
- तारा आचार्य
विराटनगर । प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि आन्दोलनरत पहिचान पक्षधरहरुले कोशी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने मागसहित युवा भेला गरेर ‘पहिचानको लागि युवा’ नामक फोर्स गठन गरेको छ ।
शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच ५ वटा संघ संगठनमा आबद्ध युवाहरुलाई समेटेर किरात राई यायोक्खाका सचिव भीम राईको संयोजकत्वमा युवा फोर्स गठन गरिएको हो ।
प्रदेशको नामाकरण पहिचानका आधारमा परिवर्तन नगरिएसम्म युवाहरु सम्मिलित उक्त फोर्सले विभिन्न आन्दोलनका कार्यक्रम गर्ने बताइएको छ । सैन्य संरचनाको ढाँचामा गठन गरिएको युवा फोर्सले शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु आयोजना गर्ने र पहिचान पक्षधरका लागि माहौल सिर्जना गर्नेछ ।
प्रदेशको नामाकरण सच्याउन माग गर्दै जारी आन्दोलनमा केही गल्ती कमजोरी भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाइने पनि बताइएको छ । गठन भएको फोर्समा १ सय ५१ सदस्यीय केन्द्रिय समिति रहेका छन् । उक्त फोर्सले प्रदेशको नाम परिवर्तन नभएसम्म आन्दोलन गरिरहने छन् ।