१२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफ मागेका छन् ।

आज शुक्रवारको प्रतिनिधि सभा बैठकको शुरुवातमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले केपी ओलीले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै यस सम्बन्धमा सरकारको स्पष्ट जवाफको माग गरेका हुन् ।

‘पछिल्लो समय हामी देख्दैछौँ, सदनभित्र भ्रष्टाचारका विषयहरु मन लाग्दोगरी खासगरी संसारमा प्रतिपक्षले सत्तापक्षलाई विभिन्न विषयमा प्रश्नहरु औँल्याउने गर्छ । प्रश्न सोध्ने गर्छ । घच्घचाउने गर्छ,’ उनले भने, ‘यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय बिना आधार, बिना प्रमाण, सत्ता पक्षका माननीयज्यूहरुले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गर्दै भ्रष्टाचार गरेको कुरा यही सदनको रोष्टमबाट बताइन्छ । यतिसम्म भएको छ । अस्तिमात्र जेठको १० गते यही रोष्टमबाट लेखनाथ दाहाल भन्ने सत्तापक्षको माननीयले भन्नुभयो हिजो नेकपा(एमाले)को सरकार हुँदा केपी शर्मा ओलीले पशुपतिनाथको गजुरमा जलहरी लगाउने भनेर, सुन लगाउने नाममा पित्तल लगाउने काम भएको छ र भ्रष्टाचार भएको छ भन्ने गम्भिर आरोप यही सदनमा लगाउनुभएको छ । हामी भन्न चाहन्छौँ यो आरोप कसरी आएको छ ? के तथ्यमा उभिएर आएको छ ? के तथ्यमा उभिएर आएको छ ?’

सत्तापक्षले यसरी मनपरी ढंगले प्रमाण बेगर, तथ्य बेगर आरोप लगाएको भन्दै यो कुरा आफूहरुलाई स्वीकार्य नभएको उनको भनाइ थियो । गिरीले थप भने, ‘हामी यसलाई निन्दा गर्न चाहन्छौँ । यसलाई हामी भत्र्सना पनि गर्न चाहन्छौँ । म भन्न चाहन्छु, यदी पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनेदेखि सरकारसँग माग गर्न चाहन्छु सुन हो कि पित्तल हो भन्ने कुरा यो सरकारले सदनलाई जवाफ दिनुपर्छ । यथार्थ कुरा के हो सदनमार्फत आम नेपाली जनतालाई यसको विषयमा बुझ्न पाउनुपर्छ । सरकारले यो विषयमा जवाफ देओस् । यो विषयमा जवाफ नआउँदासम्म यो सदन एक इन्चपनि अगाडी बढ्नसक्ने अवस्था छैन ।’

एमालेले बिरोध जनाएसँगै संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले वेल घेराउ गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको हो ।

यसैबीच, एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राखेका थिए ।

LIVE TV