
काठमाडौं । चुरेको यस्तो धेरै माया गर्ने प्रचण्ड सरकारले अहिले फेरि आफ्नो नीति तथा कार्यक्रमको बुँदा नम्बर ४२ मा चुरे बेच्ने नै योजना समेटेका छन् ।
त्यो बुँदामा भनिएको छ कि ‘वातावरण प्रतिकुल नहुने गरी नदीजन्य ढुंगा, गिटी बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ । चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरी त्यस्ता खनिज वस्तुको उत्पादन र निर्यातको व्यवसायिक सम्भावना खोजिनेछ ।’
यहि कुरा, यहि काम ओली सरकारले गर्दा प्रचण्डहरुले भनेका थिए — खरानी बेचुवा । अहिले आफूले गर्दा चाहिँ ?
पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता पछिल्लो समय केही बढी छ । नेकपा एमालेका एक सांसदले संसदमा भन्दै थिए — दुई पटक त राजा हुनुभयो, तेस्रो पटक राजा बन्ने प्रयत्न नगर्नू ।
अलि अघि पुष्पकमल दाहाल प्रचण्डले जनताले फोहोरमा मिल्काइ सकेको राजसंस्था अब चिहाँनबाट ब्युतेर आउन नसक्ने बताएका थिए ।
हाम्रो देशका नेताहरुलाई राजनीतिक पेसाकर्मीको सट्टा ‘श्री श्री एक हजार आठ त्रिकालदर्शी अनन्त ज्ञानका प्रतिमूर्ति जगतगुरु ज्योतिषाचार्य महाराज’ भनेर सम्बोधन गरिदिए पनि हुने भएको छ ।
पूर्वराजालाई तेस्रो पटक राजा बन्ने प्रयास नगर्नू भनेर अर्ती उपदेश दिनेहरु हिजोसम्म राजाको दर्शन पाइन्छ कि भनेर दरबारतिर नि न्याउरो भएर हेर्थे ।
दाम चढाएर ढोग्थे । प्रधानमन्त्री बन्न पाउँ सरकार भनेर विन्तीपत्र चढाउँथे ।
एउटा समानुपातिक, एउटा मन्त्री, एउटा सल्लाहकार हुन विदेशी दूतावास धाउनेहरु पनि हाम्रो देशमा छन् । यस्ताहरुको बीचबाट पूर्वराजालाई ‘राजा हुने इच्छा नै नराख ।’ भन्न मिल्छ ? नढाँटी भन्नु पर्दा राजा हुने इच्छा सबैलाई हुन्छ । सिस्टमले नदिँदा कोही वडाध्यक्ष बन्छन्, राजा हुने रहर पूरा गर्छन् ।
कोही मेयर बन्छन् राजाकै ठाँटमा हिँड्छन् । काठमाडौंका मेयर बालेन शाहलाई पनि अहिले पृथ्वीनारायण शाह वाला नै फिल आइरहेको होला ।
कोही मन्त्री भएपछि उत्सव मनाउँछन् । केपी ओलीले प्रधानमन्त्री हुँदा राजाले झै आफ्नो जन्मदिनमा विद्यार्थीलाई झोला पुस्तक बाँडे ।
विद्यादेवी भण्डारीले राष्ट्रपति हुँदा राजमातावाला फिलमा सात वर्ष गुजारिन् ।
हिजो अस्ति भर्खर सांसद बनेपछि उपेन्द्र यादवले शिरमा ताज लगाएर राजाको तिर्सना मेटाए ।
अनि अहिले पूर्वराजालाई सांसदहरुले अर्ति दिँदै भन्छन् — राजनीति गर्ने भए दल खोल्नू, राजा बन्ने चाहना चाहिँ त्याग्नु ।
राजा भइसकेका व्यक्तिले मेयर हुने, मन्त्री हुने चाहना राख्दैनन् । आफ्नै अध्यक्षको डाइलग रघुजी पन्तले बिर्सिनु भयो कि के हो ? बाघ भोकै बस्छ तर घाँस खाँदैन ।
यसकारण पूर्वराजा ज्ञानेन्द्र शाह यदि बने नै भने फेरि राजा नै बन्छन् । बन्न सकेनन् भने त्यतिकै मर्छन् तर मेयर चाहिँ हुँदैनन् ।
कतिपय नेताको कन्फिडेन्स देख्दा पनि उदेक नै लाग्छ । भन्छन् ‘राजसंस्था फर्किदैन । फर्किन दिँदैनौं ।’
केपी ओली प्रधानमन्त्री हुँदा सरकारसँग झन्डै दुई तिहाई बहुमत थियो । त्यो दुई तिहाईको सरकारले गुठी विधेयक प्रकरणमा घँुडा टेकेको थियो ।
त्यो प्रकरणमा झै जनता राजसंस्था चाहियो भनेर देशैभर उत्रिए भने के हुन्छ ? यसकारण राजसंस्था राख्ने कि हटाउने भन्ने कुरा यो नेताहरुको चिन्ताको विषय होइन ।
यसकारण नेताज्यूहरु, तपाईहरुको जनताको प्रतिनिधि हो, यसकारण देश र जनताको हित के गर्दा हुन्छ, त्यता तिर ध्यान दिनुहोला ।
हुटिट्याउँले झै आकाश थामेको भ्रममा बाँचेर यो व्यवस्थाको ठेकेदारी नगर्नुहोला ।
यो गणतन्त्र थाम्ने जनताले हो, नेता जनताका प्रतिनिधिमात्रै हुन्, जनताका मालिक होइनन् । यसकारण मालिक हुने चेष्टा नगरेकै राम्रो ।
अब घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरेको भनेर केपी ओली विरुद्ध प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले छेडेको जेहाद र देशभक्तिको एकछिन चर्चा गरौं ।
अहिले नाम लिइएका पाँच नेताले देशको माया गरेको त्यो दिन थियो — २०७८ साल जेठ २२ गते ।
पाँच नेताले देशको माया गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रघाती, जनघाती, कुकर्मी, राष्ट्र सत्यानाश गरेर कसैलाई रिझाउने खरानी बेचुवा भनेर दुई वर्षअघि संयुक्त वक्तव्य जारी गरेका थिए ।
त्यो विज्ञप्ति स्क्रिनमा हेर्नुहोला । खरानी बेचुवा भनेर कतिसम्म भाषा मिलाएर त्यो बेलाका प्रधानमन्त्रीलाई पखाल्ने काम वर्तमान सरकार सञ्चालकहरुले गरेका थिए, त्यो अंश जुम गरेर पनि देखाइरहेका छौं ।
खरानी बेचुवा भनेर केपी ओलीलाई भन्नुको कारण के थियो भने, त्यो बेलाको सरकारले चुरेको ढुंगागिटी भारतको चाहना अनुसार त्यतै निकासी गर्न अध्यादेश ल्याएको थियो ।
बजेट घाटा कम गर्ने नाममा चुरे मास्ने योजना ओली सरकारले ल्याएपछि प्रचण्ड, देउवा र माकुनेहरुको दिमागमा आग बबुला भएको थियो ।
चुरेको यस्तो धेरै माया गर्ने प्रचण्ड सरकारले अहिले फेरि आफ्नो नीति तथा कार्यक्रमको बुँदा नम्बर ४२ मा चुरे बेच्ने नै योजना समेटेका छन् ।
त्यो बुँदामा भनिएको छ कि ‘वातावरण प्रतिकुल नहुने गरी नदीजन्य ढुंगा, गिटी बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ । चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरी त्यस्ता खनिज वस्तुको उत्पादन र निर्यातको व्यवसायिक सम्भावना खोजिनेछ ।’
यहि कुरा, यहि काम ओली सरकारले गर्दा प्रचण्डहरुले भनेका थिए — खरानी बेचुवा । अहिले आफूले गर्दा चाहिँ ?
त्यही काम अरुले गर्दा बलात्कार, अहिले आफूले गर्दा चमत्कार ?
हिन्दीमा एउटा भनाइ छ — मै करुँ तो लिला, कोई और करे तो क्यारेक्टर ढिला ।आदरणीय प्रधानमन्त्री ज्यू, तपाईलाई अब हामी एक मामुली प्रश्न राख्न चाहन्छौं । यहि काम गर्दा तपाईले केपी शर्मा ओलीलाई राष्ट्रघाती, जनघाती, कुकर्मी, राष्ट्र सत्यानाश गरेर कसैलाई रिझाउने खरानी बेचुवा भन्नु भएको थियो । यहि शब्द हामीले तपाईहरुका लागि प्रयोग गर्न पाउने कि नपाउने ?