
- आशीष भण्डारी
अविश्वासका पानाहरु पल्टाउँदा पल्टाउँदै
जो मागिरहेछ अदृश्य खुसी,
परिवर्तनका नारा
जितको होडबाजी
हारको कहाली
अनि
उत्साहको हर्ष
यी सारा सारा क्षणभरलाई मात्र न हो
यति बुझेको भए सायद,
ऊ धाउने थिएन एकाबिहानै मन्दिर
माग्ने थिएन खसेका तारासँग कसैको खुसी
देख्ने पनि थिएन होला सायद त्यो जन्जिर सपना ।
विवशताको भुमरीमा रुमल्लिएपछि
सल्बलाएका हुन् उसका देवलभित्रका धमिरा,
गरेकी हुन् आमाले हतासोसँग गुनासो ,
जसले परालसँगै सपना पनि गाँस्ला भन्ने आश थियो ।
अनि झर्ने थिएनन् बा’का सुकिसकेका आँसु
त्यो फालीको डोबभित्र,
जसले सुन्दर भविष्य पनि खन्ला भन्ने आश थियो ।
म लेख्न चाहन्नँ यस्ता विरहका कविता
गाउन पनि चाहन्नँ
अस्तित्वले संसार छाडेका पट्यारलाग्दा गीतहरु
जसले हरेक पल मुटुभित्र सियो उनिरहन्छन ।
अघाएका भोकहरु,
निदाएका रातहरु,
अनि तिर्खाएका प्यासहरुसँग
आजभोलि मोलिरहेछ दुश्मनी
थाहा छ, भोलि भोकले खाना पाउनेछ,
रातले ओछ्यान
अनि प्यासले पानी ।
तर यी सब हुनभन्दा पहिले नै
ती सपनाहरु सँगै
सपनाहरुको अस्तित्व
खसेका ताराहरु जस्तै बिलिन भए भने ?