
- अस्मिता तिवारी
काठमाडौँ । पछिल्ला वर्षहरुमा थाइराइडको समस्या हुनेहरुको संख्यामा उच्च वृद्धि भइरहेको छ । समस्या तीव्र गतिमा फैलिएको भएपनि यसको उपचारसम्बन्धमा जानकारी भने कमैलाई छ । सुरुवाती चरणमै थाइराइडको समस्या थाहाँ नपाएर उपचार नथाल्दा यसले विभिन्न समस्या निम्तने भएकाले थाइराइड र यसको उपचार अनि सुरुवाती चरणमा के कस्तो लक्षण देखापर्छन् यसबारे जानकारी राख्दा फाइदाजनक हुन्छ ।
थाइराइड मानव शरीरमा भएको एक ग्रन्थी हो जुन हाम्रो घाँटीको बीच भागमा पुतली आकारमा दायाँ र बायाँ जोडिएर बसेको हुन्छ । यो ग्रन्थी श्वासनलीसँग जोडिएको हुन्छ भने यसलाई नियन्त्रण गर्ने अर्को ग्रन्थी टाउकोमा हुन्छ, जसलाई ‘पिटूइटेरी’ ग्रन्थी भनिन्छ । त्यहि पिटू्रइटेरी ग्रन्थीको नियन्त्रणमा रहेर थाइराइड ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । थाइराइड ग्रन्थीबाट उत्पादन हुने हर्मोनले शरीरका विभिन्न अंगलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । थाइराइड हर्मोेनले कपालदेखि नङसम्म असर गर्ने हुन्छ । थाइराइड ग्र्रन्थीले उत्पादन गर्ने हर्मोनमा हुने गडबडीलाई नै थाइराइटको समस्या भन्ने गरिन्छ ।
केही वर्षयता नेपालमा ‘थाइराइड’ सम्बन्धी स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नेको संख्या उकालो लाग्दै गएको छ । अस्पताल पुग्ने अधिकांश मानिसमा थाइराइडको समस्या देखा पर्नु चुनौतीको विषय बनेको छ । २० देखि ४० वर्ष उमेर समूहका र कतिपय अवस्थामा ६० वर्ष उमेर समुहमा समेत थाइराइडको समस्या देखिन थालेको छ ।
चिकित्सा शिक्षाले थाइराइडलाई दुइ किसिममा विभाजन गरेको छ, हाइपो र हाइपर । थाइराइड ग्रन्थीले हर्मोन कम उत्पादन गरेको अवस्थालाई हाइपो थाइराइडिजम भनिन्छ भने धेरै उत्पादन गरेको अवस्थालाई हाइपर थाइराइडिजम भनिन्छ । तुलनात्मक रुपमा पुरुषमा भन्दा महिलामा थाइराइडको समस्या धेरै हुने गरेको छ । साथै थाइराइडको समस्या सबै उमेर समुहका मानिसलाई हुन सक्छ । हर्मोनको गडबडले निमत्याउने थाइराइडको समस्याले शरिरका विभिन्न अंगमा जटिल देखि सामान्य किसिमको समस्या निमत्याउने मधुमेह तथा हर्मोन रोग विशेषज्ञको भनाइ छ ।
थाइराइडका प्रकार अुनसार त्यसका लक्ष्ण र जटिलता हुन्छन् । हाइपो थाइराइड भएमा तौल बढ्ने, अनुहार, खुट्टा सुन्निने, कमजोरी हुने, भोक नलाग्ने, अत्याधिक निद्रा लाग्ने, महिलामा महिनावारीमा गडबडी हुने, कपाल झर्ने, गर्भधारणमा समस्या हने आदि लक्षण देखा पर्ने हुन्छ । त्यस्तै, हाइपर थाइराइड भएमा हात खुट्टा काप्ने, गर्मी धेरै हुने, मुड स्विङ्स र अनिद्राको समस्या हुने, मुटुको चालमा उतारचढाव हुने, दृष्टि कमजोर हुने लगायतका लक्षणहरू देखा पर्ने हुन्छ । तर, थाइराइड भए नभएको यकिन गर्न भने रगतको परिक्षण नै गराउनु पर्ने हुन्छ ।