
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । सूर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ । तर नेपालमा ५० लाखभन्दा बढी मानिसले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । अझ पछिल्लो समय युवापुस्तामा सूर्तीजन्य पदार्थ सेवन फेसनका रुपमा देखिएकाले जोखिम बढाएको चिकित्सक बताउँछन् ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सूर्तीजन्य पदार्थ सेवन गरेर वर्सेनि करिब ८० लाखले ज्यान गुमाउने गरेका छन् । डब्लुएचओका अनुसार नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थको कारणले २७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
प्रत्येक वर्ष मृत्यु हुनेमध्ये ६६ प्रतिशत व्यक्तिको नसर्ने रोगका कारण मृत्यु हुने र त्यसमा पनि सुर्तीजन्य पदार्थको प्रयोग प्रमुख कारण रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । यसैगरी नेपाल विकास अनुसन्धान प्रतिष्ठानको तथ्यांक अनुसार नेपालमा २४ वर्षमुनिका आठ लाख युवाले धूमपान गर्ने गरेका छन् ।
साथै काठमाडौं उपत्यकामा १० देखि १५ प्रतिशत विद्यार्थीहरु कुनै न कुनै प्रकारको धूमपान सेवन गर्ने गरेको देखिन्छ । धु्रमपान सेवनले ९० प्रतिशत फोक्सोको क्यान्सर गराउने चिकित्सकहरु बताउँछन् । तर युवापुस्तामा सूर्तिजन्य पदार्थ सेवन फेसनका रुपमा देखिएकाले यस्ता पदार्थ बिक्री–वितरणमा कडाइ गर्न आवश्यक भएको डा. परशुराम घिमिरे बताउँछन् ।
पछिल्लो समय बढिरहेको नसर्ने रोगको प्रमुख कारण मध्ये सुर्तीजन्य पदार्थको सेवनलाई पनि लिने गरिन्छ । सन् २०१९ मा गरिएको नेपाल स्टेप सर्वेक्षणका अनुसार २८ दशमलव ९ प्रतिशतले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् । जसमा ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिला छन् । सूर्तीजन्य पदार्थ सेवन गर्नेमा महिलाभन्दा पुरुषको संख्या तेब्बर रहेको तथ्यांकले देखाएको छ । सन् २०१३ मा भएको सर्वेक्षण अनुसार ३० दशमलव ८ प्रतिशतले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको थियो, जसमा पुरुष ४८ दशमलव १ प्रतिशत तथा महिला १२ दशमलव १ प्रतिशत थिए ।
नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ जारी गरिएको छ । ऐनमा १८ वर्षसम्मका बालबालिकालाई सुर्ती सेवन मात्र नभई पसलमा किन्न लगाउन र बोक्नसमेत निषेध गरिएको छ । त्यस्तै सार्वजनिक स्थल, अस्पताल वरपर धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन तथा किनबेच गर्न नपाइने व्यवस्था छ । तर सार्वजनिक स्थल, अस्पतालको छेउ लगायतका स्थानमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा सेवन खुलेआम हुने गरेको छ ।