
- सितल रिजाल
काठमाडौँ । पार्टी गठनको छोटो समयमा निकै ठुलो सफलता हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय विभिन्न आरोह अवरोहकाबीच गुज्रिरहेको छ । पार्टी सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवाद, आर्थिक लेनदेन जस्तो गम्भिर प्रकृतिको अपराधमा पार्टीका हस्तिहरुको नाम जोडिनु जस्ता विषयको सामना रास्वपाले गरिरहेको छ । यहिबीचमा पार्टी सभापतिविरुद्ध पुनः सर्वोच्च अदालतमा मुद्दा परेपछि रास्वपालाई अर्को झट्का लागेको छ ।
मन्त्री बन्ने होडमा पार्टी नेताहरुका लागि भन्दै मेडिकल ब्यवसायी दुर्गा प्रसाईँसँग भएको अडियो प्रकरणबाट निस्काशित भएका ढाकाकुमार श्रेष्ठले दोषारोपण गरेपछि रास्वपा महामन्त्री डा.मुकुल ढकाल सार्वजनिक रुपमै जंगिए । यहिबीचमा रास्वपा सभापति रवि लामिछानेको नागरिकता र राहदानीको बिषयले अदालतमा प्रवेश पाएको छ । उपनिर्वाचनबाट पुनः चुनाव जितेका लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै बुधबार सर्वोच्चमा रिट दायर भएपछि सामाजिक सञ्जाल फेरि गर्माएको छ । आफूमाथि रिट परेपछि स्वयम सभापति लामिछानेले पनि समाजिक सञ्जालबाटै आक्रोश ब्यक्त गरेका छन् ।
लामिछानेले फेसबुकमा लेखेका छन् :
‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’ सर्वोच्च अदालतको मिति २०७९/१०/१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य पुष्टि गरेको छु । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको छु । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मसँगै भएकाले मिति २०८०/०२/०९ गते सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ । सो कुरा टेलिभिजनबाट घोक्रो सुक्ने गरी स–प्रमाण बोलिसकेको थिएँ ।
रविले नागरिकता त्यागेको निस्साबारे आफ्नो स्पष्टिकरणमात्रै दिएका छैनन्, आफूविरुद्ध लाग्नेलाई भौतिक आक्रमणको शैलीका चेतावनी दिएका छन्– ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ’ भनेर ।
सभ्य समाज र परिवर्तित राजनीतिको दुहाई दिने यो पार्टीका सभापतिले नै धम्कीपुर्ण भाषा बोलेपछि अर्को आलोचना शुरु भएको छ ।
सञ्चारकर्मीका रुपमा चर्चा कमाएका रविले राजनीतिमा लागेको छोटो समयमै निकै ठुलो सफलता प्राप्त गरे । उनकै व्यक्तित्वका कारण पार्टी गठनको छोटो समयमा २० सिट हात पारेको रास्वपाले उपनिर्वाचनबाट १ सिट थप्यो । सुशासन, जनतामा सहजता र मुलुकको समृद्धिको नारा दिँदै आएको रास्वपा भित्र पछिल्लो समय बेथितिका चाङहरु बाहिरिदै आएका छन् । पार्टी सभापतिकै नागरिकता जस्तो संवेदनशिल विषयमा विवाद साम्य नहुँदै सार्वजनिक भएको घुसकाण्डपछि ढाकाकुमार त पार्टीबाट निकालिए तर उनले पार्टीको कुन नेता दिन मागेका थिए, दुई करोड भन्ने प्रश्न रहस्यकै गर्भभित्र छ । त्यसैले रवि आफु संयमित भएर पार्टीलाई सुधारको बाटोमा नलगेमा उनले जनतामाझ बाँडेका आश्वासनका पुलिन्दा फगत सावित हुने छन् ।