
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई, प्रहरी महानिरीक्षक वशन्त कुँवर, कांग्रेस नेतृहरु आरजु राणा, मञ्जु खाँड, नेकपा एमालेका उपाध्यक्ष रामकुमार थापा बादल, उनकी पत्नी नैनकला थापा आदिको नाम मुछिएको छ । तर यी हाइ प्रोफाइलहरुलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएन ।
धेरैले भनेका छन् – ‘नेपालमा अनुसन्धान त एक बहाना हो, सेटिङमा आफ्ना जोगाउने चाहना हो ।’
विशिष्टहरुको कुरा छाडौं दर्शकवृन्द, आज हामी तपाईहरुलाई यस प्रकरणमा लो प्रोफाइलका व्यक्तिलाई प्रहरीले कसरी अनुसन्धानमा तान्यो र उनी तानिँदै गर्दा प्रकरणमा जोडिएको प्रमाण भेटिँदा पनि अर्का एकलाई कसरी छाड्यो ?
भन्ने विषय उजागर गर्दै छौं । प्रहरीले कसूरदार मानेको ३० जना मध्ये सन्देश शर्मा अहिले प्रहरी हिरासतमा छन् ।
राजेश अर्याल फरार छन् । राजेशलाई परिचालन गर्ने आकाश भनेर चिनिने रामकुमार रेग्मी नाम गरेका दाङका ४३ वर्षीय कांग्रेसी कार्यकर्ता कसरी प्रहरीको अनुसन्धान घेरामा परेनन् ?
यो विषयको खुलासा राजेश अर्यालले गरेका छन् । अर्याल ३० जना मध्येका एक हुन् । उनी आज हाम्रै कार्यालय आएर घटनाको तथ्य खोलेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा लाखौं असूल्नेहरु कसरी प्रहरीको अनुसन्धानमै परेनन् र अरुले अह्राएको काम गर्ने कारिन्दा कसरी फसेका छन् भन्ने एउटा मामिलाले दर्जनौं प्रश्न एकसाथ उठाएको छ ।
यस प्रकरणमा प्रहरीले ३० जनालाई कसूरदार करार गरेको छ । ती ३० मध्येका एक राजेश अर्याल बिहीबार न्युज ट्वान्टी फोरकै कार्यालयमा आएर घटना वृतान्त सुनाएका छन् ।
नक्कली भुटानी बनेर अमेरिका जान खोज्नहरुबाट रकम संकलन गर्ने काम गरेको भनेर अर्यालको नाम प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा समावेश गरेको छ ।
आरोपी ३० जना मध्ये प्रहरीले पाँच जनालाई मुख्य योजनाकार, कार्यान्वयन गराउने दोस्रो तहमा पाँच जना, कार्यदल बनाउने र नीतिगत निर्णय गर्ने तेस्रो तहमा छ जना र बाँकीलाई रकम संकलन गर्ने चौथो तहमा राखिएको छ ।
यहि चौथो तहमा बसेर काम गर्ने व्यक्तिका रुपमा काठमाडौं जितपुरफेदीका ३० वर्षीय राजेश अर्याललाई प्रहरीले कसूरदार मानेको छ । तर अर्याल निमित्त मात्रै हुन्, रकम संकलन गर्ने असली व्यक्ति चाहिँ कांग्रेसी कार्यकर्ता समेत रहेका दाङ शान्तिपुर गाउँपालिका ४ का ४३ वर्षीय रामकुमार रेग्मी रहेको प्राप्त प्रमाणहरुबाट पुष्टि हुन्छ ।
नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रक्रियाको दोस्रो तहमा रहेर बढी सक्रिय रहेका मध्ये सन्देश शर्माका साथी हुन् आकाश भनिने रामकुमार रेग्मी ।
रेग्मी समायोजन समितिको सदस्य हुँ भन्ने गर्थे । परिचय पत्रमा के कुरा समायोजन गर्न गठित समिति भन्ने खुलेको छैन ।
यिनै रामकुमार रेग्मीले वैदेशिक रोजगारीमा जान चाहने युवालाई तालिम दिन नयाँ बानेश्वरमा ‘बिन्ध्यबासिनी इन्टर नेशनल इन्स्टिच्युट’ खोलेका थिए । त्यही इन्स्टिच्युटमा काम गर्ने आठ मध्येका एक राजेश अर्याल थिए ।
उनलाई रेग्मीले मासिक २० हजार तलब हुने गरी कर्मचारी प्रशासन प्रमुखका रुपमा काम लगाएका थिए । शरणार्थीको बायोमेट्रिक गराउने भनेर रचिएको एक नाटकका क्रममा हरिभक्त महर्जन नक्कली सहसचिव, श्याम नामका अर्का व्यक्ति नक्कली उपसचिव भएर चितवन पुगेका थिए ।
त्यो गिरोहमा सन्देश शर्मासँगै रामकुमार रेग्मी पनि चितवन गएका थिए । रेग्मीकै विन्ध्यवासिनी इन्स्टिच्युटमा काम गरिरहेको बेला राजेश अर्याललाई उनैले ‘तिम्रो खातामा मेरो अलिकति पैसा जम्मा भएको छ, भिकिदेऊ है’ भनेका थिए ।
सुरुमा सात लाख रुपैयाँ आफ्नो खातामा आएपछि अर्यालले त्यो रकम झिकेर रेग्मीलाई दिए ।
नक्कली शरणार्थी बन्न खोज्नेहरुबाट रेग्मीले रकम असूल गरिरहेका थिए । रकम जम्मा गर्न चाहिँ उनले अर्यालको बैंक खाता दिने गर्थे ।
२५ लाख जति रकम अर्यालको खातामा आएपछि उनले ‘२० हजार कमाई भएको मान्छेको खातामा यति धेरै रकम आउन थाल्यो । यसले त मलाई समस्या पर्छ, मबाट यो काम नगराउनूस’ भने ।
रेग्मीले अर्याललाई प्रलोभनमा पार्न ‘तिम्रो नाम पनि शरणार्थीको लिष्टमा राखिदिन्छु, यो काम गर,’ भने ।
अमेरिका जान पाइने प्रलोभनमा अर्याल फसे । शरणार्थीहरुको सूचीमा अर्यालको नाम पनि थपियो ।
आफ्नो नाममा तीन वटा बैंकमा खाता पनि उनले खोले । करिब एक वर्षमा १ करोड १० लाख रुपैयाँ अर्यालको खातामा जम्मा भयो ।
उनको खातामा रकम जम्मा गर्नेहरुमा विराज पाण्डे, मोमुकान्त पाण्डे, सन्दीप ओली, मनबहादुर खत्रीलगायत थिए ।
खातामा आएको रकममध्ये करिब २० लाख रुपैयाँ रेग्मीलाई नगदै दिए । नगद दिइएको रकमको खास प्रमाण हुँदैन । तर अर्याल रेग्मीबाट परिचालित हुन् र रेग्मीको नेक्सस सन्देश शर्मासँग छ भन्ने प्रमाणहरु चाहिँ उपलब्ध छन् ।
अर्यालले त्यसबीच रेग्मीको इन्स्टिच्युटको कर, उनको गाडीको कर आदि तिरिदिएका थिए ।
रेग्मीलाई पैसा दिन सोही इन्स्टिच्युटमा काम गर्ने मेनुका भट्टाराईको नाममा चेक काटेर, त्यो रकम लिन दुवै जना बैंक गएका थिए ।
यी र यस्ता धेरै प्रशंगले प्रहरीको नजरमा फरार भनिएका राजेश अर्याल र रामकुमार रेग्मीको नेक्सस प्रमाणित हुन्छ ।
तर घोर दूर्भाग्यको कुरा के छ भने प्रहरीले रामकुमार रेग्मीलाई प्रतिवादी नै बनाएको छैन ।
रेग्मीले चलाएको धन्दामा जानेर नजानेर संलग्न भएकाहरु अहिले यो प्रकरणका मतियार बनेका छन् तर रेग्मीलाई प्रहरीले उन्मुक्ति दिएको छ ।
सन्देश शर्माले राजेशलाई दिएको नब्बे लाखको चेक, सन्देशबाट पैसा लिन रामकुमारले चलेको चाल
रामकुमार रेग्मी र सन्देश शर्माले शरणार्थी बनाउन मानिसहरुसँग असुलीको वातावरण बनाउँथे ।
पैसा बुझाउन तयार भएकाहरुले राजेश अर्यालको खातामा पैसा जम्मा गर्थे । यसरी जम्मा भएको रकम रेग्मीले भनेअनुसार कहिले उनैलाई झिकेर दिन्थे ।
कहिले रेग्मीले भनेपछि सन्देश शर्मालाई दिन्थे । रेग्मी र शर्माको लेनदेन चलिरहेकै बेला एक पटक राजेश अर्यालका लागि शर्माले चेक काटे ।
यो चेकको रकम रामकुमार रेग्मीले पाउनु पर्ने थियो । तर कांग्रेसी कार्यकर्ता भएका कारण रेग्मी अधिवेशनका लागि काठमाडौं बाहिर थिए ।
त्यो बेला सन्देशले राजेशकै नाममा चेक काटिदिए । तर खातामा पैसा नभएका कारण साटिएन । रेग्मीको निर्देशनअनुसार तीन पटक बाउन्स गराए ।
त्यसपछि रेग्मीले मुद्दा हाल्न राजेशलाई दबाब दिए । तर मुद्दा हालेर थप झमेलामा नपर्ने भनेर उनी पन्छिन खोजे ।
त्यसपछि रामकुमार रेग्मीले नयाँ प्रपञ्च सिर्जना गरे । र रामकुमार आफैंले २५ लाखको त्यो चेक आफूले लिएर सन्देशसँग मुद्दा मामिला गर्न राजेशसँग मञ्जुरीनामा लिन खोजे ।
रामुकुमारले राजेशलाई ऋणी बनाएर आफू साहु बने र यस्तो कागज तयार पारेर हस्ताक्षर गराउन खोजे । राजेशले हस्ताक्षर गर्न मानेनन् ।
नक्कली शरणार्थी प्रकरणमा अहिले सन्देश शर्मा मात्रै पक्राउ परेका छन् ।
राजेश फरारीको सूचीमा छन् । तर यस घटनामा रामकुमार रेग्मीको संलग्नता कागजबाटै पुष्टि हुन्छ ।
यो चेकको रकम शरणार्थी बन्न चाहनेबाट संकलित रकम होइन भने कुन प्रयोजनको पैसा हो त ? यो कुराको पुष्टि गर्न सन्देश र रामकुमारले सक्लान् ?
यति हुँदा पनि प्रहरीले रामकुमार रेग्मीलाई अनुसन्धानको दायरामा ल्याउँदै ल्याएन । पक्राउ परेकाहरुले विशिष्ट व्यक्तिहरुको पनि संलग्नता रहेको भनेर बयान दिएका छन् ।
हाइ प्रोफाइलहरुलाई नछुनुलाई त नेपालमा सामान्य नै मान्ने गरिन्छ । तर रामकुमार रेग्मी समेतलाचई प्रहरीले अनुसन्धानको दायरामा किन ल्याएन भन्ने बढी अनौठो देखिएको छ ।