१२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासको टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा पुगेको छ । बिहीबार डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेर भेटवार्ता गरेको हो । भेटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वपाले जनाएको छ । छलफलको क्रममा रास्वपाका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको थियो । चिनियाँ टोलीले रास्वपाको कार्यालयमै गएर भेट गर्नुलाई राजनीतिक महत्वकासाथ हेरिएको छ । रास्वपासँग चिनियाँ चासो के हो र चीनले रास्वपालाई कुन तवरले हेर्छ भन्नेबारे पनि चासो बढेको छ । यद्दपी, यस प्रकारको भेटलाई सामान्य राजनीतिक संस्कार र कुटनीतिक सम्बन्धका रुपमा लिइन्छ ।

विप्लवले के गर्दैछन् नयाँ तयारी ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुको शिवगढीमा जारी छ । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई महत्वका साथ हेरिएको छ । यसअघि पार्टी स्थायी समिति बैठक काठमाडौँमा बसेपनि पोलिटब्युरो बैठक कपिलवस्तुमै बसेको थियो । नेकपा बैठकमा समाजवादी मोर्चा निर्माणका विषयमा महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ । गत मंगलबार विप्लव फेसबुक लाइभमा आएर अन्र्तक्रिया समेत गरेका थिए । लाइभमा आएका अधिकांशले माओवादी केन्द्रसँग एकता गरेर जान सुझाव दिएका थिए । त्यस विषयलाई आफूले सकारात्मक रूपमा लिएपनि बैठकमा गम्भीर छलफल हुने उनले बताएका थिए । पछिल्लो समय विप्लव माओवादी केन्द्रसँग नजिकिएका छन् । माओवादी केन्द्रसँग नियमित सम्पर्कमा रहेका विप्लवले माओवादीसँग अब कस्तो नाता गास्ने छन् त्यो अहिले नै भन्न सकिने अवस्था छैन ।

कोशीमा आन्दोलन घोषणा

विभिन्न राजनीतिक दल र संघसंस्थाले कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन् । प्रदेशको नाम पहिचानका आधारमा पुनः नामाङ्कनको माग गर्दै आएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेको हो । प्रदेश नामकरणको विरोध गर्दै पहिचान पक्षधरहरुले १४ जेठबाट प्रदेशसभा सचिवालय क्षेत्रमा केन्द्रित रहेर आन्दोलन गर्ने विज्ञप्तीमार्फत जानकारी दिएका हुन् । फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेशको नाम राखेपछि स्थगित भएको प्रदेशसभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । जेठ १४ गते दिउँसोबाट सरकारले बजेट अधिवेशन बोलाएको छ ।

कोशीमा शान्तिका लागि कांग्रेसको कसरत

नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेशको नाम कोशी राखेपछि सिर्जना भएको अशान्ति र हिंसा बन्द गर्न आग्रह गरेको छ । कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । विज्ञप्तिमार्फत नै प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन माग गरिएको छ । ‘आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । साथै कांग्रेसले आन्दोलनरत सम्पूर्ण पक्षलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गरेको छ । कांग्रेसले प्रदेशको नामकरणपश्चात उत्पन्न भएको परिस्थितिका कारण बेलबारी २ लालभित्ती मोरङ्ग निवासी पदमबहादुर लिम्बू लाजेहाङको आन्दोलनकै क्रममा मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ ।

बस भाडा घट्यो, काठमाडौंमा ५.९० प्रतिशत सस्तो

काठमाडौंसहित बागमती प्रदेशभर सार्वजनिक यातायातको भाडा घटेको छ । शुक्रबार नयाँ भाडादर राजपत्रमा प्रकाशित भएपछि बागमति प्रदेश सरकारले गरेको यो निर्णय लागू हुने छ । बागमति सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार घटेको भाडादर अनुसार अब सार्वजनिक गाडी चढ्दा न्यूनतम १७ रूपैयाँ मात्रै लाग्ने छ । अहिले न्यूनत्तम भाडा २० रूपैयाँ छ । यसरी भाडामा ३ रुपैयाँ घटेको छ । डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो । जस अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा ५.९० प्रतिशत घटाउने निर्णय भएको छ । उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घट्ने छ । पछिल्लो समय नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । भने नयाँ मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम गरेको थियो । यसअघि नै संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा भाडादर समायोजन गरिसकेको थियो ।

 

LIVE TV