१२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । शिखरमा पुग्न गाह्रो, पुगेपछि अडिन अझै गाह्रो । राजनीतिमा पनि यो नियम लागू हुन्छ । कुनै व्यक्ति राजनीतिको शिखरमा पुग्यो वा उसले राजनीतिक सफलता प्राप्त गर्यो भने उसका, उसैले बिर्सेका कमजोरी पनि अरुले सम्झेर सतहमा ल्याइ दिन्छन् ।

यहि भएर राजनीतिज्ञहरुका विगतका काण्डहरु सधै कोट्याउने गरिन्छ । कमजोरीमाथि प्रहार पनि हुने गर्छ । तर यस्तो प्रहारको कुनै सिमा हुन्छ कि ?

एउटै व्यक्तिलाई अनवरत, लखटेको लखटै, योजना, धन्दा वा मूल काम नै त्यही बनाएर भइरहन्छ भने के त्यो स्वभाविक हुन जान्छ ?

नागरिकता प्रकरण, राहदानी प्रकरणमा एकपछि अर्को मुद्दाको मामिला नसकिएपछि यो प्रश्न रास्वपाका सभापति रवि लामिछानेले सोधेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मामिला फेरि सर्वोच्च अदालतमा दर्ता भएको छ ।

यो सँगै सेलाएको भनिएको मामिला पुनः व्युँतिने आँकलन पनि भइरहेको छ । युवराज पौडेल (सफल) ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनि पेश गरेको रिट नंं. ०७९–डब्लूसी–००८६ मा दर्ता भएसँगै जेठ १७ गते पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार रिट दर्ता गर्न आदेश दिएको थियो ।

रिटमा लामिछानेले पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको जिकिर गरिएको छ ।

रिटमा भनिएको छ, ‘विपक्षी र रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९\१०\ १३ गतेको आदेशले कायम नरहेको भनी घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन र नेपाली नागरिकता कायम हुन वा पुनः प्राप्त भएको मान्न सकिंदैन ।’

त्यस्तै ‘नेपालको संविधानको धारा ८७ (१) (क) र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१ (ख) र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एवं निर्णय लगायतका सम्पूर्ण कार्यहरु खारेज गरी पाऊँ।” रिटमा भनिएको छ ।

फेरि मुद्दा परेपछि रविको दिक्दारी : भन्छन्– इरिटेट गर्ने पनि सीमा हुन्छ !

आफुविरुद्ध फेरि मुद्दा दर्ता गरिएपछि सभापति लामिछानेले हैरान गर्नुको पनि सीमा हुने भन्दै फेसबुकमाफर्त आक्रोश पोखेका छन् ।

पटक पटक नागरिकताका विषयमा आफूमाथि मुद्दा हालिनुले आफु इरिटेट भएको उल्लेख गरेका छन् ।

लामिछानेले लेखेका छन्–मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ । साथै केही बुँदा नै उल्लेख गर्दै आफुले प्रक्रिया पुरा गरेको दाबी गरेका छन् ।

रोष्ट्रमबाटै कांग्रेस सांसदले नागरिकताको प्रसंग उठाएपछि संसदमा खैलाबैला !

बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकमा काँग्रेस सांसद अजयकुमार चौरसियाले लामिछानेको नागरिकता र रास्वपाका निलम्बीत सांसद ढाकाकुमार श्रेष्ठ सम्बन्धि विवादबा बोले ।

सांसद चौरसियाको यो अभिव्यक्तिपछि अदालतमा विचाराधिन विषयलाई संसदमा उठाएको भन्दै लामिछानेलगायत रास्वपाका सांसदहरुले चौरसियाको बिरोध गरे ।

सभापति लामिछानेले चौरसियाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । नागरिकता प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि उल्लेख गर्दै अदालतमा विचाराधिन विषयलाई हल्लाको भरमा संसदमा नबोल्न पनि सचेत गराए ।

यसअघि गत माघ १३ गते अमेरिकी नागरिकता लिएपछि प्रक्रिया नपु¥याएर पुनः नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो ।

अदालतको फैसलासँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो । त्यसपछि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएका थिए । तर लामिछानेले पुनःनागरिकता लिँदा प्रक्रिया नपु¥याई लिएको भन्दै अहिले फेरि युवराज सफलले मुद्दा हालेका हुन् ।

ढाकाकुमारको रिटमा आएन अन्तरिम आदेश,  रास्वपा उपसभापति र महामन्त्रीको प्रष्टोक्ति !

यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घूस मागेको अडियो सार्वजनिक भएपछि पार्टीको कारवाहीमा परेका रास्वपाका नेता डा. ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद पदबाट पनि हटाएको थियो । त्यस विरुद्ध श्रेष्ठले वैशाख २४ गते सर्वोच्चमा निवेदन दिएका थिए ।

अडियोमा कोर टिमलाई पैशा बुझाउनुपर्ने उल्लेख गरेका ढाका कुमारले उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले २ करो ८४ लाख रुपैयाँ लिएर समानुपातिक सांसद बनाएको भन्ने अपुष्ट खबर बाहिरिएका छन् ।

यो खबर विभिन्न सञ्चारमाध्यममा बाहिरिएपछि पार्टी उपसभापत अर्याल र प्रवक्ता ढकालले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

दुबैले फेसबुकमा स्ट्याटस लेख्दै –यस्ता समाचार मान, प्रतिष्ठा र इज्जतलाई धमिल्याउन कि भनेर सार्वजनिक गरिएको दाबी गरेका छन् ।

साथै भ्रामक समाचार प्रकाशन गर्नेविरुद्ध कानुनी उपचार समेत खोजिने समेत उल्लेख गरेका छन् ।

LIVE TV