
काठमाडौं । इन्टर मिलानले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको छ । इन्टरले फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
इन्टर मिलानलाई उपाधि दिलाउनको लागि लोउटारो मार्टिनेज नायक बने । इन्टरको लागि दुवै गोल उनले नै गरे भने फियोरेन्टिनाका निकोलस गोन्जालेसले गोल गरे । रोमस्थित स्टाडियो ओलम्पिकोमा भएको खेलमा सुरुवाती अग्रता लिएपनि फियोरेन्टिनाले जोगाउन सकेन । तेस्रो मिनेटमै गोन्जालेसले गोल गरेका थिए ।
२९ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । उनैले ३७ औँ मिनेटमा गोल गरेपछि इन्टर २–१ ले अघि रह्यो ।
मार्टिनेजको पछिल्ला चार खेलमा यो चौथो गोल हो । दोस्रो हाफमा इन्टरले आफ्नो अग्रता कायमै राख्दा फियोरेन्टिनाले गोल फर्काउन सकेन । दुवै टोली युरोपियन प्रतिस्पर्धाको फाइनल खेलको तयारीमा छन् ।
इन्टरले च्याम्पियन्स लिगको उपाधिका लागि १० जुनमा म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै फियोरेन्टिनाले युरोपा लिगको फाइनलमा ७ जुनमा वेस्टह्यामको सामना गर्नेछ ।
मिलानले सिरी ए अन्तर्गत नापोलीसँग ३ – १ गोलको हार बेहोरेको टिमबाट फियोरेन्टिनाविरुद्ध ९ खेलाडी परिवर्तन गरेको थियो । रोमेलु लुकाकुलाई पनि बेन्चमा राखिएको थियो ।