११ जेष्ठ २०८०, बिहीबार

काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका रुसी प्रधानमन्त्री मिशुस्टिनले चिनियाँ राष्ट्रपति सि र समकक्षी ली छ्याङसँग बेइजिङमा बेग्लाबेग्लै भेटवार्ता गरेका हुन् । सो क्रममा रुस र चीनबीच व्यापार तथा खेल सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यो सम्झौतासँगै द्विपक्षीय व्यापार दुई सय अर्ब डलर पुग्ने लक्ष्य राखिएको छ । युक्रेनमाथि आक्रमण थालेयता कुनै पनि रुसी उच्च अधिकारीले चीन भ्रमण गरेको यो पहिलो पटक हो ।

पश्चिमा देशले रुसलाई लगाएको प्रतिबन्धलाई जवाफ दिन र चीनसँगको सहकार्य तथा साझेदारी बढाउन यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा पनि दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।

जापानमा हालै सम्पन्न जी–सेभेनको बैठकले रुसविरुद्धको प्रतिबन्धमा थप कडाइ गरेपछि र चीनविरुद्ध अभिव्यक्ति दिएलगत्तै दुवै मुलुकका उच्च अधिकारीबीच भेटवार्ता भएको हो ।

रूस र चीनबीचको सम्बन्ध उच्चस्तरमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री मिशुस्टिनले आपसी एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताएका छन् ।

LIVE TV