११ जेष्ठ २०८०, बिहीबार
  • गणेशमान बसेल

काठमाडौँ । पछिल्लो समय सहकारी ठगी प्रकरणले बिकराल रुप लिँदै छ । बचतकर्ताको पैसा हिनामिना गरेर फरार हुने सहकारी संस्थाहरुको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । सरकारले केहीलाई कानुनी दायरामा पनि ल्याएको छ तर घटना रोकिनेभन्दा पनि झनझन बढ्दै गएका छन् । अहिले शिव शिखर सहकारीले करिब १० अर्ब रुपैयाँभन्दा बढी हिनामिना गर्दा बचतकर्ताहरु मारमा परेका छन् । हाल उनीहरुले विभिन्न सरकारी निकायहरुलाई हारगुहार गरिरहेका छन् ।

जागिर, व्यापार–व्यवसाय, भत्ता लगायतका स्रोतहरुबाट संकलित सानो–सानो अंशको रकम खल्तीमा अथवा घरमा राख्नुभन्दा सहकारी संस्थामा राख्नु बचतका दृष्टिले उपयुक्त मानिन्छ । तर, पछिल्लो समय सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास टुट्दै गएको छ । सयौं सहकारीहरुका सञ्चालक बचत रकम हिनामिना गर्दै भाग्ने गरेका छन् । यसैमध्येको एक हो , भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिव शिखर सहकारी । यसले एक लाख ६७ हजार सात सय २५ जना सदस्यको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६ रुपैयाँ हिनामिना गरेको पाइएको छ । जुन अहिलेसम्मकै एकैचोटि ठगी भएको सबैभन्दा ठुलो रकम हो ।

बाँके कोहलपुरका केदारनाथ शर्मा अध्यक्ष रहेको उक्त सहकारीका देशभरि ३५ वटा शाखा कार्यालय तथा सेवा केन्द्रहरु रहेको सिआइबीले जनाएको छ ।

अहिले सीआइबीमा जाहेरी दिन पुग्ने निक्षेपकर्ताको संख्या दिन प्रतिदिन बढिरहेको छ । हालसम्म भक्तपुरका मात्रै निक्षेपकर्ताले २० करोड रुपैयाँभन्दा धेरै ठगीको जाहेरी दिइसकेका छन् । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय भई देशभरि २६ वटा शाखा कार्यालय तथा सेवा केन्द्र चलाउँदै आएको शिव शिखर सहकारीमा अरबौ रुपैयाँ हिनामिना भएको प्रहरीको आकलन छ ।

यस्तै यस सहकारी संस्थाको शिखर अर्गनाइजेशन पनि रहेको र त्यसमा पनि धेरै जसो ऋण र शेयर रहेको सिआइबीको दाबी छ । अहिलेसम्म संस्थाका सञ्चालक दुई जना र निर्देशक एक जनालाई नियन्त्रणमा लिइएको छ ।

पछिल्लो समय विश्व आर्थिक मन्दीको असर, बजार तरलताको अभावका कारण व्यापार व्यवसायमा सन्नाटा छाउनु, सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्नु जस्ताकारणले सहकारी संस्था नै धरासायी बन्दै गएका छन् । यस्तो अवस्थाले सरकारले लिएको तीन खम्बे आर्थिक नीतिमा समेत धक्का पुर्याइरहेको छ ।

LIVE TV