११ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।  नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतलाई पाँच कसुरमा मुद्दा दर्ता गरिएको हो ।

उनीहरुविरुद्ध ठगी, संगठित अपराध, लिखत कीर्ते र राज्यविरुद्धको अपराध कसुरमा सजाय गर्न माग गरिएको छ ।

३० जनाविरुद्ध मुद्दा दर्ता भएकोमा अहिले प्रहरी हिरासतमा १६ जना छन भने १४ जना अझैं फरार रहेका छन् । जिल्ला अदालत काठमाडौंमा अब थुनछेक बहस हुनेछ ।

त्यसपछि अदालतले पूर्वपक्षका लागि थुनामा राख्ने, साधारण तारेखमा छाड्ने वा धरौटी लिएर छाड्ने भन्ने निर्णय गरेपछि मुद्दाको अन्तिम किनारा लगाउन अदालतमा बहस पैरवी हुनेछ । तर, अभियुक्तविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पत्र लेख्ने निर्णय भएको छ ।

सार्वजनिक ओहोदामा रहेकाहरुको हकमा यस्तो कुरा लागू हुने बताइएको छ । अभियोग पत्रमा प्रतिवादीहरू छुटेको अवस्थामा प्रहरीको जिम्मा लगाउन माग गरिएको छ ।

गृहमन्त्रीले प्रहरीका हाकिमलाई किन भेटे ?

प्रहरी महानिरिक्षक वसन्त कुँवर नक्कली शरणार्थी प्रकरणमा तानिएपछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् । आइजीपी कुँवरसँग गृहमन्त्री श्रेष्ठले अनुसन्धान प्रतिवेदनका तथ्यहरु कसरी बाहिरिए भन्दै चासो राखेको बताइएको छ ।

आइजीपीसँग उनले तपाईको संलग्नताको अपुष्ट समाचारहरु बाहिर आएका छन् । यो विषय के हो भन्दै चासो राखेको स्रोतले जनाएको छ । जवाफमा कुँवरले आफूलाई षडयन्त्रपूर्वक फसाइएको दाबी गरेका छन् ।

कुँवरले आफू आइजीपी बनेपछि नै अभियुक्तहरु पक्राउ परेको दाबी गरे । तर, उनको सक्रियता बालकृष्ण खाँण लगायतलाई बचाउन दौडधुप गरेको आरोप लागेको छ ।

गृहमन्त्रीले चासो राखेपछि कुँवरले उपत्यका प्रहरी कार्यालयका प्रमुख श्याम ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीसहितका अधिकारीहरुसँग छलफल गरेका छन् ।

उनीहरुसँग पनि अनुसन्धानका कागजातहरु बाहिरिएको विषयमा असन्तुष्टि जनाएको बताइएको छ । यद्यपी ज्ञवाली र केसीले हिम्मतका साथ काम गरेको भन्दै सार्वजनिक रुपमै प्रशंसा भइरहेको छ ।

खाँणलाई हिरासतबाटै पाण्डेको पत्रः बयान नफेरे…

हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनायण पाण्डले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दुई पत्र लेखेको पाइएको छ ।

पाण्डेले खाँणलाई विचौलयाको बयान फेराउन आग्रह गरेका छन् । प्रहरीले खाँण र उनका स्वकिय सचिव नरेन्द्र केसीबाट बरामद गरेको पत्रमा यस्ता कुरा उल्लेख भएको दाबी प्रहरीको छ ।

केसीमार्फत पाण्डेले पत्र पठाएका थिए । यहि पत्रमा पाण्डेले खाँणलाई भनेका छन्, ‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ, नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ । अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन ।

मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनुहोला ।’ यस्तै, ‘नरेन्द्रजी ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र थप आरोपित व्यक्तिहरूलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप नलिन सक्छ’, दोश्रो पत्रमा भनिएको छ ।

पाण्डेले पठाएका पत्रले पनि उनीहरुको यो प्रकरणमा संलग्नता पुष्टी हुने आधारहरु हुने प्रहरीको विश्वास छ ।

सर्वोच्चमा रविविरुद्ध मुद्दा, सांसद पद फेरि धरापमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा दायर भएको रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

यो मुद्दाको पेसी आगामी १७ गतेका लागि तोकिएको सर्वोच्चले बताएको छ । सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले रविको सांसद योग्यतासम्बन्धि रिटमा संवैधानिक र कानूनी प्रश्न निरुपन गर्नुपर्ने भन्दै दरपीठ बदर गरिदएका हुन् ।

युवराज पौडेल सफलले रवि गत वैशाख १० को चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गत वैशाख २५ मा पेस भएको रिटलाई सर्वोच्चका रजिस्ट्रारले २८ गते दरपीठ गरिदिएका थिए । रजिस्ट्रारको दरपीठ गर्ने निर्णयविरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि आदेश दिँदै सर्वोच्चले भनेको छ, ’निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानुनी प्रश्न निहीत रहेको देखिँदा यस अदालतको रजिस्ट्रारबाट मिति २०८०\०१\२८ मा भएको दरपीठ आदेश बदर गरिदिएको छ ।’

रविका मान्छेलाई सांसद बन्न ढाकाकुमारले बुझाए तीन करोड

ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निकट मानिने पार्टी उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले करिब तीन करोड लिएको खुलासा भएको छ ।

आफूलाई समानुपातिक सांसद बनाउदा रास्वपाले आर्थिक सहयोग चाहिने भन्दै रकम माग गरेको ढकालले जनशआस्थासँग खुलासा गरेका हुन् । आर्थिक अपचलन, भ्रष्टाचारविरुद्ध लड्ने बताउने गरेको रास्वपाले नै सांसद बनाउन करोडौं रकम लिएको आरोप लागेपछि सर्वसाधारणले भने रवि र रास्वपाप्रति कटाक्ष गर्न थालेका छन् ।

ढाकाले जनआस्थासँग गरेको भनिएको कुराकानी अनुसार पार्टी कार्यालय र रेस्टुरेन्टमा पुगेर पैसा दिएको आरोप लगाएका हुन् ।

रास्वपाले ढाकाकुमारलाई विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न रकम मागेको आरोपमा कारबाही भोगेपछि उनी सांसद छैनन् ।

सर्वोच्चमा मुद्दा विचाराधिन रहेकाले अहिले नै के हुन्छ भन्न सकिने अवस्था भने छैन् ।

प्रचण्डको मुटु चेक गर्छु भनेका रविले ढाकाको आरोपमा के गर्लान ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन प्रणली खर्चिलो भएको दाबी गरेका छन् ।

अन्य पार्टीमा टिकट पाउन थुप्रै खर्च हुने गरेको दाबी गरेका रविले आफ्नो पार्टीका समानुपातिक सांसद बनाउदा करोडमा डिल भएको विषय भने विर्सिएका छन् ।

रास्वपामा समानुपातिक सांसद बन्न ढाकाकुमार श्रेष्ठले करिब तीन करोड बुझाएको आरोप लगाएका छन् ।

ढाकाले सांसद बन्न गरेको भनिएको खर्चलाई भने रविले कसरी हेर्छन् भन्ने प्रश्न उब्जिएको छ । संसद बैठकमा उचालिएका रविको पार्टीमाथि लागेको आरोपको अनुसन्धान होला ? प्रश्न उठेको छ ।

यस्तै, रविले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकाहरुमाथि छानविनको माग गरेका छन् ।

यो प्रकरणमा अनुसन्धान सहि ढंगले नभएको शंका गरेका उनले प्रधानमन्त्री प्रचण्डको मुटु काँपेको आरोप लगाउदै अस्पतालमा लगेर चेक गराउन चाहेको भन्दै व्यङ्ग्य समेत कसेका छन् ।

LIVE TV