
काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालनबारे निजी क्षेत्रसँग छलफल भएको छ । इन्टरमोडल यातायात विकास समितिले चोभार बन्दरगाह सञ्चालनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नाडा अटोमोबाइल एसोसिएसन लगायतका सरोकारवाला निकायसँग छलफल गरेको हो ।
चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि निजी क्षेत्रको सहयोग र साथको अपेक्षा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
छलफलमा वीरगन्ज एकीकृत जाँच चौकी र वीरगन्ज सुक्खा बन्दरगाहमा रहेका एक हजार ९५० वटा नयाँ जिप र भ्यानलाई चोभार सुक्खा बन्दरगाहमा ल्याउने कानुनी पाटोलाई मध्यनजर गरिएको छ ।
नेपाल एयरलाइन्सलाई अष्ट्रेलिया उडान अनुमति
नेपाल एयरलाइन्सले अष्ट्रेलियाका लागि उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमकानुसार नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।
सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र समय दिएको छ । उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ ।
निगमले आगामी असार ६ गते (जुन २१ तारिख)लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढेको जनाएको छ । साथै, निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको उल्लेख गरेको छ ।
सरकारीलाई कारबाही गरिने
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले निर्धारित समयमा कर्जाको सावाँ, ब्याज र हर्जाना नतिर्ने सरकारी संस्थाहरुलाई कालोसूचीमा राख्ने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै कोषले ३५ दिनभित्र सावाँ, ब्याज, हर्जाना चुक्ता नगर्ने ७० वटा सहकारी संस्थालाई कारबाही गर्ने चेतावनी दिएको हो ।
तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एंव कर्जा उपसमितिको तिनपुस्ते विवरण सहित रकम असुलीका लागि कालोसूचीमा राखी सञ्चार माध्यम र सम्बान्धित निकायहरुमा सूचना प्रकाशित गरिने कोषले जनाएको छ ।
पछिल्लो समय बचत कर्ताको निक्षेप फिर्ता गर्न नसकेको भन्दै आलोचना खेपिरहेका सहकारी संस्थालाई विभिन्न संघसंस्थाहरुले पनि कर्जा चुक्ताका लागि ताकेता गर्न थालेका छन् ।
बजेटको प्राथमिकतामा पिछडिएको क्षेत्र
सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रलाइै केन्द्रमा राखेर आगामी नयाँ बजेट बनाउने भएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतको प्रतिमण्डलसँगको भेटमा सूचकाङ्क कम भएका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् ।
त्यस्तै, प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई प्रदेशको समग्र आर्थिक अवस्था, विकास निर्माण लगायतका कामहरुको बारेमा जानकारी गराउँदै बजेट विनियोजनमा पिछडिएका क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
सरकारी सार्वजनिक ऋण बढ्दै
सरकारले एक महिनामा नै करिब ४८ अर्ब ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन केन्द्रकाअनुसार वैशाख महिनामा मात्र सरकारले ४७ अर्ब ८६ करोड रूपैयाँ सार्वजनिक ऋण लिएको छ ।
जुन महिनागत रुपमा वैशाखमा सबैभन्दा बढी ऋण उठाइएको हो । जस अन्तर्गत वैशाखमा लिएको ऋणमध्ये बाह्य ऋण जम्मा ३६ करोड रूपैयाँ छ ।
भने आन्तरिक ऋण ४७ अर्ब ५० करोड रूपैयाँ छ । त्यस्तै वैशाख महिनामा नै सरकारले १२ अर्ब ७८ करोड रुपैयाँ विगतमा लिएको ऋणको साँवा फिर्ता, ब्याज तथा कमिशन बुझाएको छ ।
हालसम्म सरकारको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रूपैयाँ पुगेको छ । चालु वर्षमा मात्रै सरकारले एक खर्ब ४० अर्ब रूपैयाँ विगतमा लिएको ऋणको साँवा ब्याज भुक्तानी गरेको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यको भौतिक प्रगती आधा भन्दा बढि सम्पन्न भएको छ । आयोजनाकाअनुसार निर्माण थालेको तीन वर्षमा भौतिक प्रगति ५३.४२ प्रतिशत मात्र पुगेको छ ।
जसमा धादिङतर्फ १,०७६ मिटर र काठमाडौंतर्फ ९२५.८० मिटर सुरुङ खनिसकिएको छ । त्यस्तै आपत्कालिन सुरुङ भने २,३०५.८० मिटर खनिएको छ । मुख्य सुरुङको दूरी २.६८८ किमि छ । तर सुरुङ खन्ने काम मात्र ८२.२० प्रतिशत सकिसकेको छ ।
आयोजनाले द्रुत गतिमा काम भइरहेको दाबी गर्दै आए पनि काठमाडौंतर्फ मुआब्जा वितरण गर्न नसक्दा कामले गति लिन नसकेको आयोजनाको भनाई छ । ठेक्का सम्झौताअनुसार यसको काम ४२ महिनाभित्र सक्नुपर्ने हो ।