
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । सरकारले सिभिल अस्पताललाई अब शिक्षण अस्पतालको रुपमा विकास गर्ने भएको छ । निजामती कर्मचारी अस्पतालका रुपमा रहेको सिभिललाई अब शिक्षण अस्पतालका रुपमा विकास गरिने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा निजामती अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने विषय उल्लेख गरेका थिए ।
मंगलबार पत्रकार सम्मेलन गरेर अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेलले सरकारको नीति तथा कार्यक्रम अनुसार सिभिल अस्पताललाई अब शिक्षण अस्पतालको रुपमा विकास गरिने बताए ।
सिभिल अस्पतालले शैक्षिक कार्यक्रम सञ्चालनका लागि बीएन, एमडीएमएस र डीएम विषयमा अनुमति समेत पाइसकेको अस्पतालले जनाएको छ ।
साथै अस्पतालमा यस वर्षदेखि नर्सिङ क्याम्पस पनि सुरु हुन लागेको र यसका लागि बी.एन नर्सिङका २० जना विद्यार्थीहरु आइसकेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर विधाननिधि पौडेलले बताए । तर शिक्षण अस्पतालको रुपमा विकास गर्ने सरकारको नीति भएपनि सिभिल अस्पताललाई हाल जग्गाको अभाव मुख्य समस्याका रुपमा देखिएको पौडेलले जानकारी दिए ।
जग्गा समस्या समाधानका लागि अस्पताल नजिकै कतै जग्गा उपलब्ध गराउँन सरकारसँग जग्गा माग गरेको समेत उनले जानकारी गराए ।
यसैगरी निजामती कर्मचारी अस्पतालले आफ्नो सेवा सात वटै प्रदेशमा विस्तार गर्ने भएको छ ।
सेवा विस्तारका लागि प्रक्रिया समेत सुरु गरिसकेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा सुरुका लागि प्रक्रिया सुरु भएको अस्पतालले जानएको छ ।
सातै प्रदेशमा सिभिल अस्पताल स्थापना गर्नेभन्दा पनि संघीय अस्पतालमै समन्वय गरेर सेवा सुरु गरिने अस्पताको भनाई छ ।
सिभिलमा हाल १३६ शय्या सञ्चालित छ । एक महिनामा तीन सय शय्या सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ ।