१० जेष्ठ २०८०, बुधबार

सिरहा । मधेस प्रदेशको सिराहामा रहेको प्रादेशिक अस्पतालमा विद्युत आपूर्ति अवरुद्ध हुँदा मिर्गौला रोगीका लागि डायलसिस सेवा नै रोकिन्छ ।

मिर्गौलाले काम गर्न छाडेपछि बिरामी जोगाउने अन्तिम विकल्प डायलसिस नै हो । यति महत्वपूर्ण सेवा – प्रभावित गर्नै नहुने हो । तर भएको एउटा जेनेरेटरमा पनि आगो लागेको भनेर अर्को किनिएको छैन ।

डायलसिस गराउन गएका केही विरामी आफैं सडकमा पुगेर आन्दोलन गर्न बाध्य भए ।

भन्नका लागि मधेस प्रादेशिक अस्पताल सिराहालाई प्रदेशकै उत्कृष्ट अस्पताल भन्ने गरिएको छ । तर एउटा जेनेरेटर खरिद पनि सयममा नहुँदा विरामी सडकमा पुगेर आन्दोलन गरिरहेका छन् ।

मधेस प्रादेशिक अस्पताल सिराहामा विद्युत सेवा नहुँदा डायलसिस गराउनु पर्ने बिरामीहरु आफैं सडकमा प्रदर्शन गर्न विवस भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले बिना सूचना जुनसुकै बेला पनि विद्युत कटौती गर्दै आएको छ । दिनमा पटक पटक विद्युत कटौती भएपछि अस्पतालले ऊर्जाको वैकल्पिक स्रोतका रुपमा जेनेरेटर खरिद गरेको थियो । तर ४० दिन अघि जेनेरेटरमा आगो लागेपछि अहिले विद्युत कै कारण डायलसिस सेवा समेत प्रभावित भएको छ ।

यो दृश्य सोमबारको हो । बिहान नौ बजे पूर्वसूचना बिना नै नेपाल विद्युत प्राधिकरणले अस्पताल क्षेत्रकै विद्युत आपूर्ति बन्द गरिदियो ।

विद्युत नहुँदा डायलसिस सेवा हुन नसक्ने अस्पतालले जानकारी दियो । विद्युत नहुँदा विकल्पका रुपमा जेनेरेटर राखिएको थियो । समयमै जेनेरेटरको प्रबन्ध समेत नहुँदा बिरामी समेत आन्दोलन गर्न बाध्य भए ।

गएको चैत २९ गते आगलागी हुँदा जेनेरेटर जलेको बताइएको छ । विद्युत आपूर्ति बन्द हुने बित्तिकै उपचार नै प्रभावित हुन्छ भन्ने अस्पतालाई जानकारी पनि छ । तर नयाँ जेनेरेटर जडान गरिएको छैन ।

यहि कारण सोमबार पालो पर्खेर डायलसिस गराउन अस्पताल पुगेका नौ विरामीले उपचार पाएनन् ।

विरामीको यस्तो हाल थाहा पाएपछि विद्युत प्राधिकरणले दिउँसो साढे १२ बजे पुन विद्युत आपूर्ति गरिदियो । त्यसपछि मात्रै विरामीको डायलसिस गरियो ।

बिरामीले समयमै डायलसिस सेवा पाएनन् भने श्वास प्रश्वासमा समस्या हुने, असहज हुने जस्ता समस्या देखा परिहाल्छ । तर विद्य्ुत प्राधिकरण र अस्पतालको लापरबाहीका कारण कुन बेला कस्तो दूर्घटना निम्तिने हो, ठेगान छैन ।

प्रादेशिक अस्पताल सिराहामा ४६ बिरामीले नियमित डायलाइसिस गराउँदै आएका छन । बिरामी तथा स्थानीयहरुले विद्युत आपूर्ति नियमित नहुँदा अस्पतलाको सेवा एक महिनाभनदा बढी समयदेखि प्रभावित भइरहेको जानकारी दिएका छन् ।

बिरामीहरुले विद्युत् आपूर्ति नियमित गरेर डायलाइसिस सेवा नियमित गरिनु पर्ने, विकल्पमा जेनेरेटर तयारी अवस्थामा राखिनु पर्ने माग गरेका छन् ।
यस अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा घोषणा गरिएको थियो । उत्कृष्ट भनिउको अस्पतालमा विशेषज्ञ चिकित्सकको कमी छ । मानसिक रोग विशेषज्ञ र रेडियोलोजिष्टको पदपूर्ति हुन सकेको छैन । बालरोगका विशेषज्ञ पनि चार महिनादेखि अस्पतालमा छैनन् ।

जेनेरेटरका सम्बन्धमा अस्पताल प्रशासनले सामाजिक विकास मन्त्रालयमा पत्राचार भइसकेको जनाएको छ ।

अस्पतालको पत्र हेरेर मन्त्रालयले जेनेरेटर खरिद गर्ने निर्णय कहिले गर्छ, यो एकिन छैन । त्यो बेलासम्म केही विरामीले ज्यान गुमाइ सक्ने खतरा पनि छ । मन्त्रालयले जेनेरेटरका लागि बजेट पठाउने आश्वासन दिइरहेको छ ।

LIVE TV