
- त्रिगुणा भट्टराई
काठमाडौं । स्वास्थ्य क्षेत्रमा वेथिति तथा विकृतिहरु बढ्दै गएको जनगुनासो व्याप्त छ । स्वास्थ्यमा बढेको विकृतिका विषयमा सम्बन्धित निकाय समेत बेखबर छैनन् । स्वास्थ्य क्षेत्रको विकृतिका बाबजुद नवनियुक्त स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले समग्र स्वास्थ्य क्षेत्र सुधारको आवश्यता महसुस गरेको भन्दै विभिन्न खालका निर्देशन दिन थालेका छन् ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा बेथिति तथा विकृति मौलाउँदै गएको देखिन्छ । बढ्दो गएको व्यथितिका कारण सिंगो स्वास्थ्य क्षेत्रकै बद्नाम भएको छ । स्वास्थ्य क्षेत्र व्यवसायिक मात्र नभएर सेवामुलक पेशा पनि हो । तर स्वास्थ्य सेवा अहिले सेवामुलक भन्दा पनि विशुद्ध व्यवसायिक बन्दै गएको देखिन्छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत पनि स्वास्थ्य क्षेत्रमा अराजकता बढ्दै गएको स्वीकार्छन् । अस्पतालजन्य उपकरण खरिदमा कमीसनको चक्करमा उपकरण खरिद गर्ने तर प्रयोगमा नल्याउने प्रवृत्ति कायमै छ । साथै अस्पतालमा बेड खाली भए पनि आवश्यक पर्दा विरामीले नपाउने तर पहुँच र भनसुनका भरमा सहजै पाउने समस्या सरकारी अस्पतालहरुमा छ । तर आफ्नो कार्यकालमा यस्ता समस्यालाई हल गर्दै जाने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिबद्धता छ ।
स्वास्थ्य क्षेत्रको विकास तथा सुधारका लागि भन्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत १३ प्राथमिकता अघि सारेको छ । पूर्ण रुपमा स्वास्थ्य सेवाको पहुँच, स्वास्थ्य संस्थाका विकास, विस्तार, अनुगमनका साथै सर्ने र नसर्ने रोग सम्बन्धी स्वास्थ्य संस्था स्थापना गरिने लगायत विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । तर सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका धेरै विषय नअटेको एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई छ । सरकारको स्वास्थ्य नीति जनताप्रति उत्तरदायी नभएको भन्दै सरकारले जनस्वास्थ्यप्रति गम्भीर आघात गरेको उनको आरोप छ ।
स्वास्थ्य क्षेत्रका बेथिति समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निकै ठूलो चुनौती छ । स्वास्थ्य मन्त्री बनेर स्वास्थ्य क्षेत्रको सुधार तथा विकास गर्न स्वास्थ्य मन्त्रालय रोज्ने भन्दा पनि उपेक्षित मन्त्रालयका रुपमा पठाउने भएकाले स्वाथ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न कठिन भएको जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन् ।
स्वास्थ्य आम नागरिकको जीवनसँग जोडिएको क्षेत्र हो । त्यसैले यो क्षेत्रको विकृति तथा समस्याहरु पहिल्याएर समाधान गर्न जरुरी छ ।