
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने षडयन्त्र हुन लागेको भन्दै एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि प्रहार गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा बोल्दै ओलीले आफ्नो सरकारको पालामा नक्कली शरणार्थी प्रकरणको अनुसन्धान तत्कालीन नेकपा विवाद लगायतले हुन नपाएको दाबी गरे । भ्रष्टाचारको फाइल खोलेपछि वाहवाही पाएको सरकारलाई चुनौति थपिएपनि दोषी उम्किन लागेको भन्ने ओलीको अभिव्यक्तिले के संकेत ग¥यो भन्ने यकिन भने हुन सकेको छैन् । तर, निर्दोषलाई फसाउने षडयन्त्र भएको भनेका ओलीले आफ्ना पार्टीका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी लगायतका नेताहरुलाई जोगाउन खोजेका त होइनन् भन्ने प्रश्न उब्जिएको छ । आफ्नो नेतृत्वको सरकार रहेको बेला कुनै गडबड नभएको दाबी गरेका ओलीले नै यो प्रकरणलाई होल्ड गरेको आफैले खुलासा गरेका छन् ।
ओलीलाई महराको जवाफः शरणार्थी प्रकरणले पोलेको हो ?
नेकपा माओवादी केन्द्रले एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको प्रसंग उठाएको आरोप लगाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले एमालेलाई नक्कली शरणार्थी प्रकरणले पोलेको दाबी गरेका हुन् । यस्तै, महराले दोषीलाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाए । दोषी उम्किन नसक्ने र निर्दोष नफस्ने दाबी गरेका महराले एमालेको आशंकालाई प्रतिउत्तर दिएका हुन् । एमाले अध्यक्ष केपी ओलीले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी उम्किने खतरा रहेको भन्दै सरकारको आलोचना गरेका थिए । ओलीले संसद बैठकमै यस्तो दाबी गरेपछि माओवादीले पत्रकार सम्मेलन गरेर जवाफ फर्काएको छ । पछिल्लो समय एमाले–माओवादी केन्द्रबीच घोचपेच र नोकझोक चलिरहेको छ ।
राजसी ठाँटमा बालकृष्ण र टोपबहादुर, खोई हत्कडी ?
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान मन्त्री तथा सांसद टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको छ । अनुसन्धान नसकिएको भन्दै अदालतमा लगिएका उनीहरु उच्च सुरक्षामा हत्कडीबिहीन देखिन्छन् । प्रहरीले हत्कडी लगाउनुपर्ने अभियुक्तलाई महानायक शैलीमा अदालत लैजानुले पनि प्रहरी अनुसन्धानमा आशंका व्यक्त गर्न थालिएको छ । यो प्रकरणमा केशव दुलाल, सानु भण्डारी लगायतका व्यक्ति चैत्र १२ गते पक्राउ परेकाले संगठित अपराधमा अभियुक्तलाई ६० दिन हिरासत राख्न मिल्ने कानूनी प्रावधान अनुसार आगामी शुक्रबार मात्रै समय पुग्ने भएकाले प्रहरीले थप तीन दिन म्याद थपेको छ । यो प्रकरणको अनुसन्धानमाथि नै आशंका उठिरहेको बेला प्रहरीले उनीहरुलाई देखाएको व्यवहारले नै आशंका थप बलियो पार्दै लगेको छ ।
रास्वपाबाट देशको समस्या समाधान हुदैन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी लगायत स्वतन्त्र उम्मेदवारबाट समाज रुपान्त्रण हुन नसक्ने भन्दै पपुलिस्ट राजनीतिको लामो यात्रा नहुने दाबी गरेका छन् । गएको चुनावमा आक्रामक रुपमा उदाएको रास्वपा र सकेहि स्वतन्त्र उम्मेदवार लक्षित गर्दै महासचिव पोखरेलले भारतमा बलिउडका चर्चित कलाकार अमिताभ वच्चन पनि राजनीतिमा आएको स्मरण गराएका छन् । समाजको कुनै क्षेत्रमा चर्चा हाँसिल गर्ने र राजनीतिमा आउने अहिलेको होडबाजीले मुलुकको समस्या समाधान गर्न नसक्ने उनको दाबी छ । पपुलिस्ट राजनीतिका कारण युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशलाई कस्तो बनाए भन्दै प्रश्न गरेका पोखरेलले रास्वपा पपुलिस्ट राजनीतिमा रमाउन थालेको आरोप लगाएका हुन् । राजनीतिक विचारधारा बोकेका दलको विकल्प आजको समाजमा नभएको उल्लेख गरेका पोखरेलले युक्रेन, अमिताभ वच्चनबाट सिकेर जनता अघि बढ्नुपर्नेमा जोड दिए ।
संसदमा चित्रबहादुरको अनौठो माग
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट संघीयता र संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा केसीले संघीयता खारेज गरेर संविधान कार्यान्वयन गरौं भन्नुपर्ने तर्क राखेका छन् । संघीयता खारेजीको मुद्दा उठाउदै आएको जनमोर्चाले चीन, जापान, बेलायत लगायत मुलुकको उदाहरण दिदै नेपालमा संघीयता आवश्यक नै नरहेको बताउदै आएको छ । यस्तै, केसीले कालापानीमा भारतले जबरजस्ती कब्जा गरेर सेना राखेको र त्यसलाई हटाउने बुँदा थप्न समेत माग राखेका छन् । संघीयता खारेजी र कालापानीबाट भारतीय सेना हटाउनुपर्ने बुँदा सरकारको नीति तथा कार्यक्रममै राख्नुपर्ने माग राखेका केसी कांग्रेस–माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनको बलमा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।