
- प्रिशा बस्नेत
ताप्लेजुङ । लिम्बू जाति अन्र्तगतको साँवा बंशहरुको थाकथलो माङ्गेना यक हिममा सामुहिक रुपमा दुङ्दुङे पूजा सम्पन्न भएको छ ।
दुङ्दुङे पुजा लिम्बू जातिमा प्रचलितपूजा हो । दुङ्दुङे पुजा विशेष गरि लिम्बूजातिले दुःख बिराम हुँदा, सुख शान्ति प्राप्तिका लागि भाकल गरेर आफ्नो कुललाई सम्झेर गर्छन् ।
धार्मिक परम्परा अनुसार साँवा मिङ्श्रा सङचुम्भोले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का साँवा बंशहरुको थाकथलो माङ्गेना यक हिममा सामुहिक रुपमा दुङ्दुङे पुजा गरेका छन् ।
साँवाहरुको थाकथलो मानिने यस क्षेत्रमा माङ्गेना यक हिमको भवन पनि रहेको छ । तर यो भवन अरु भवन भन्दा धेरै फरक छ ।
हेर्दा सामन्य देखिए पनि यो भवनले पुर्खेउली संस्कृतीलाई चित्रण गर्न खोजेको देखिन्छ ।
ढुङ्गा ,माटो र काठबाट भवन र्निमाण गरिएको छ भने छाना पनि ढुङ्गाकै बनाईएको छ । कुललाई सम्झेर सुख शान्तिका लागि गरिने यस पूजाले वंशमा शान्ति आउने धार्मिक मान्यता रहेको छ ।
लिम्बुहरुको माङ्गेना भन्नाले शिर उठाउँनु भन्ने बुझिन्छ । सिकार खेल्ने क्रममा साईघाट भन्ने मान्छेका ८ भाई मध्ये ७ भाईलाई बिष खुवाएर मारि सके पछि १ भाईलाई साम्योक हाङ् राजाका सेना पतिबाट बचाउन भनेर भाग्ने क्रममा सबै भन्दा पहिले यहि स्थानमा आएर घर बनाई शिर उठाँउने काम भएकाले उहि ठाउँलाई सावाँहरुको थाकथलो मानेर यो भवन बनाईएको स्थानीय सन्जुहाङ सावाँले बताए ।
देश तथा विदेशमा रहेका ९ वटा सावाँहरु मिलेर यो भवन निर्माण गरिएको छ । यि र यस्ता पुख्यौली संरचना र संकृतिको जर्गेना गर्ने स्थानिय स्तरबाटै पहल आवश्यक छ ।