४ बैशाख २०८०, सोमबार
  • कृष्णबाला श्रेष्ठ

नेपाल एक समृद्ध सांस्कृतिक सम्पदा भएको देश हो। नेपाललाई विभिन्न जात्रा तथा परम्परागत चाडपर्वहरूको घर पनि भन्न सकिन्छ। यी चाडपर्वहरूले नेपाली संस्कृतिमा महत्त्वपूर्ण भूमिका खेल्छन् र नेपालमा यिनलाई ठूलो उत्साहका साथ मनाइन्छ। नेपालमा मनाइने थरिथरि जात्राका पछाडि आ-आफ्नै परम्परा र महत्त्व जोडिएका छन्। यी जात्राहरूले देशको सांस्कृतिक पहिचान झल्काएका छन्।

म आफ्नो संस्कृतिलाई प्रेम गर्छु। भक्तपुरको नेवार समुदायमा जन्मिएकाले मेरो नेवारी भाषा, यस क्षेत्रमा मनाइने बिस्केटलगायतका विभिन्न जात्रा तथा चाडपर्व, यहाँका सांस्कृतिक सम्पदा र परम्परासँग गहिरो सम्बन्ध गाँसिएको छ। मेरो नशा नशामा हाम्रो मौलिक संस्कृति बगेको छ।

हाल म बृहस्पति विद्यासदन नक्सालमा कक्षा ११ मा अध्ययनरत छु। मैले नेपाली विषयको परियोजना कार्य गर्ने क्रममा नेवारी सभ्यता र संस्कृतिको विषय छनोट गरेको थिएँ। त्यसै सन्दर्भमा मैले भक्तपुरमा मनाइने बिस्केट जात्रा तथा यससँगै जोडिएको जिब्रो छेड्ने जात्राको बारेमा यसै वैशाख महिनाको १ र २ गते आफैले स्थलगत अध्ययन गरेर सानो आलेख तयार पारेको छु।

बोडे नेपालको काठमाडौँ उपत्यकाको भक्तपुर सहरमा अवस्थित एक ऐतिहासिक धरोहर भएको जीवन्त स्थान हो। भक्तपुरमा मानिसहरू परम्परागत शिल्प र उद्योगहरू जस्तै माटोको भाँडा, बुनाई र धातुको काममा संलग्न छन्। यसले यहाँको संस्कृतिलाई बोकेको छ। बोडे क्षेत्रमा वर्षभरि विभिन्न चाडपर्व मनाइन्छन्। जसमा बिस्केट जात्रा पनि एक हो। यो जात्रा उपत्यकाको सबैभन्दा ठूलो र महत्तवपूर्ण चाडमध्ये एक हो।

बोडेको जिब्रो छेड्ने जात्रा वा मेप्वाखनेगु जात्रा धेरै पहिलेदेखि चलिआएको परम्परा हो। यस क्षेत्रका नेवार समुदायको मौलिक परम्परा यस जात्रामा झल्किएको छ। यस जात्राको मुख्य आकर्षणका रुपमा जिब्रो छेड्ने जात्रा नै देखिन्छ। यो पर्व नेपाली नयाँ वर्ष, सौर्य क्यालेन्डरअनुसार वैशाख महिना, मध्य अप्रिलमा सुरु हुन्छ।

२०८० वैशाख १

यस वर्षको जात्रामा म विशेष उत्साहका साथ उपस्थित भएँ। वैशाख १ गतेका दिन घाम अस्ताउन थालेपछि सडकमा धिमे र भूस्याःको स्वर गुन्जियो र जात्रा सुरु भएको सङ्केत भयो। परम्परागत रङ्गीन पोशाक लगाएका भक्तहरूको समूहले फरक फरक देवीदेवताको प्रतिनिधित्व गर्ने रथहरु बोकेका थिए। मानिसहरू सडकमा लाइनमा बसेर देवताको दर्शन गर्न र पूजा गर्न उत्सुक थिए। जब म बोडेको सडकमा हिँड्दै थिएँ, मैले त्यहाँको वातावरण उत्साहले भरिपूर्ण पाएँ। सहरलाई रङ्गीन झण्डाहरुले सजाइएको थियो। सडक विभिन्न किसिमका परम्परागत गीतसङ्गीतको ध्वनिले गुञ्जायमान भएको थियो।

यस बेला जात्रा प्रदर्शन गर्ने समूह सक्रिय रुपमा लागेको थियो। जात्राको रौनकता बढिरहेको देखेर मैले भीडको बीचबाट उत्साहको अनुभव गरेँ। जहाँसुकै मानिसहरु नाच्दै, गाउँदै रमाइलो गरिरहेको अवस्थामा देखिन्थे। यो पर्व धेरै वर्ष पहिलेदेखि बोडेमा मनाइँदै आएको मानिन्छ। यो पर्व बोडे, भक्तपुरका जनताको जीवन संस्कृतिको जीवन्त प्रमाण हो।

जात्राले आफ्नो गति लिइरहेको थियो। रात पर्दै जाँदा भीड बढ्दै गयो र कोलाहल चर्को हुँदै गयो। तर त्यहाँ उपस्थित समुदाय आफ्नो सांस्कृतिक लयमा प्रवाहित भइरहेको थियो। सबै उमेर समूहका मानिसहरू यो पुरानो परम्परालाई जोगाउन तथा रमाइलो हेर्न एकसाथ जम्मा भएका थिए। मैले पनि यस जात्राको अवलोकन गरी पहिलो दिनको थुप्रै अनुभव सँगाल्ने मौका पाएँ।

२०८० वैशाख २

भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा लाग्ने दिन। दोस्रो दिन पनि म अत्यन्तै रुचिका साथ यस ऐतिहासिक क्षणलाई आफ्नो आँखामा कैद गर्न लालायित थिएँ। यहाँ मजस्तै जात्रा हेर्न आएकाहरूको ऊर्जा तथा उत्साह देखेर म छक्क परेँ। बोडेका बासिन्दा रहेका २७ वर्षीय युवा  सुजन बाग: श्रेष्ठ यस वर्षको जिब्रो छेड्ने जात्रामा सहभागी भए र उनले पहिलो पटक जिब्रो छेडे।

भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा हेर्न जम्मा भएका मान्छेहरुको भीडमा उभिएर हेर्दा मनमा एक किसिमको रोमाञ्चक अनुभूति भयो। म सुजन बागः श्रेष्ठले पहिलो पटक जात्रामा सहभागी भएको हेर्न अझ उत्सुक थिएँ। उहाँको आफ्नो संस्कृतिप्रतिको श्रद्धा, समर्पण र विश्वासले मेरो मन जित्यो।

सुजनको यस साहसको बोडेका बासिन्दाले जयजयकार गरे। पाँचौं गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा सुजनलाई पुर्‍याइयो। यसअघि लगातर १२ पटक जिब्रो छेडाइसकेका कर्मीनाय कृष्णचन्द्र बागः श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाएका जुजुभाई बागः श्रेष्ठ पनि माथि मञ्चमा उक्लिए। त्यहाँ छुट्टै माहोल सिर्जना भयो।

सुजनका ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किए। देवीदेवतालाई पुकारे। धूप बत्ती बाले। एक महिनाअघि तयार पारेर तेलमा डुबाइराखेको १० इन्च लामो फलामको सुइरो निकालियो। हजारौँ मानिसकै अगाडि सुजन बागः श्रेष्ठको जिब्रो छेडिदिए। उहाँको जिब्रोमा सुई हालेको देख्दा मनमा छुट्टै अनुभूति भयो।

यस पर्वमा श्रद्धालुहरुको भक्तिभाव मात्र प्रस्तुत भएको छैन। मन र शरीरको सहनशीलता र त्यागको पनि यहाँ विशेष प्रस्तुति देखिन्छ। जिब्रो छेड्ने जात्राको समापन हुनासाथ परम्पराप्रतिको विश्वास र भक्तिको यो अतुलनीय समर्पण देखेकोमा कृतज्ञताको अनुभूति भयो। यस वर्ष सुजन बागः श्रेष्ठको सहभागिताले जात्रालाई अझ विशेष बनाएको थियो। उनी भर्खरका युवा थिए। उनले देखाएको समर्पण भावले मेरो मन जित्यो। अत्यन्तै रौनकताका साथ सम्पन्न भएको यस वर्षको जात्राको आनन्द लिँदै मैले भक्तपुरको बोडेको लोक संस्कृति र परम्पराको महिमागान गरेँ।

इतिहास

प्रत्येक वर्ष चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो ठड्याएपछि वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ। यो बोडेको मात्र होइन, देशकै सांस्कृतिक परिचय हो। किम्बदन्ती अनुसार जिब्रो छेड्ने जात्रा तान्त्रिक देवता नीलबाराही (काठमाडौं उपत्यकाका चार बाराहीमध्ये एक) सँग सम्बन्धित छ। नीलबाराही देवताको देब्रे र दायाँपट्टि भूत (भूत, पिचास, ख्याक) खेतीपातीमा सघाउन मानिसहरूको रूपमा छोपेर खेतबारीमा जाने गरेका कथा सुनिन्छन्। त्यसपछि त्यस्ता कथाले स्थानीयहरूलाई भयभीत र विस्मित गराएको भनिन्छ।

त्यही बेला स्थानीयले ख्याकाको कपाल काट्न थाले र लुगा च्याते। क्रोधित भएर कोही-कोहीले यसको जिब्रोमा फलामको सुई हान्ने प्रयास गरे। भाग्छ भन्ने अनुमान गर्दै उनीहरूले घुङ्गुरुलाई खुट्टामा बाँधे। थप पीडा थप्नको लागि तिनीहरूले यसलाई आफ्नो काँधमा अर्ध-वृत्त काठको ज्वाला बोकेर सहर वरिपरि परेड गर्न लगे। सजायको पीडा सहन नसकेर ख्याकले पीडाबाट मुक्त भए फर्कने वाचा गर्ने बतायो। त्यसपछि यसलाई महालक्ष्मी मन्दिरको अगाडि लगेर सुई निकालिएको किंवदन्ती छ। पछि नीलबाराहीको दोषले भीमदत्त र जनता बिरामी परे र नीलबाराही भीमदत्त कर्माचार्यको सपनामा क्रोध व्यक्त गर्न देखा पर्‍यो। त्यसपछि जिब्रो छेड्ने पर्वको अघिल्लो दिन पास्ता गुठीद्वारा गरिने तान्त्रिक विधिमा पास्ता थायेगु (माफी पुजा) वा क्ष्मपूजा गर्ने चलन छ। सात वर्षसम्म ख्याक आफै आएपछि भीमदत्तले जनताको रक्षाका लागि यसलाई परम्पराको रूपमा अघि बढाउन स्थानीयलाई आग्रह गरे। त्यसपछि प्रत्येक वर्ष यो उत्सवको रूपमा जारी छ।

—– —

बृहस्पति विद्यासदन, नक्सालमा कक्षा ११ मा अध्ययनरत

LIVE TV