
काठमाडौँ । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् ।
आज (शनिवार) पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको उनले बताए ।
‘मालदार’ भनिने मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको उनले बताए । पैसाका कारण लोकतन्त्त पनि विकृत हुँदै गएको भन्दै उनले परम्परागत र पुराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए ।
‘कुशासनका कुराहरु छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भुमिका कस्तो छ ? भन्नेकुरा जोडिएको छ,’ डा. वाग्लेले भने, ‘अन्य परम्परागत पार्टी, पुराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनै पनि हस्तक्षेप भएन । हामी ढुक्कले उम्मेदवार बुझ्न सक्यौँ । अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १० औं करोडको डिले हुन्छ भन्ने छ । यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ ।’
राजनीतिमा देखिएको यस्तो विकृतिलाई ‘क्लिनअप’ गर्नको लागि प्राथमिकताको अवधारणाई आफ्नो पार्टीले अवलम्वन गरेको समेत उनले बताए । ‘त्यो भनेको सुशासनको पहिलो खुड्किला हो,’ उनले भने ।
डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी समेत गरेका छन् । उनले आफू पछि फर्किन नभएर अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए ।