
काठमाडौं । पछिल्लो समय सर्ने रोगको तुलनामा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा देखिन्छ । नेपालमा विगतको तुलनमा नसर्ने रोगबाट मृत्यु हुनेको सख्या पाँच प्रतिशतले वृद्धि भएको छ ।
विश्वमै नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दा सर्ने रोगको तुलनमा नसर्ने रोगका कारण अल्पआयुमै ज्यान गुमाउनेको संख्या समेत बढी देखिन्छ ।
अहिले विश्वमा नै नसर्ने रोगको अवस्था चिन्ताजनक अवस्थामा पुग्दै गएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांकअनुसार विश्वमा हुने कुल वार्षिक मृत्युमध्ये नसर्ने रोगबाट ७४ प्रतिशतले ज्यान गुमाउने गर्दछन् । तर, यो संख्या सन् २०१८ को तथ्यांकमा ६६ प्रतिशत मात्र थियो ।
नेपालमा पनि पछिल्लो समय सर्ने भन्दा नसर्ने रोग बढ्दै गएको सरकारी अध्ययनले नै देखाउँछ ।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगका कारण भएको देखिन्छ ।
यसअघि यहि निकायकै सहयोगमा भएको सन् २०१८ को अध्ययनमा यो संख्या ६६ प्रतिशमा मात्र थियो ।
स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०१९ को प्रतिवेदन अनुसार कुल १ लाख ९३ हजार ३ सय ३१ मृत्युमा २१ दशमलव १ प्रतिशत मृत्यु सर्नेरोग, मातृ तथा नवजात र पोषणसम्बन्धी रोगका कारण भएको तथ्याङ्क छ ।
त्यस्तै ७ दशमलव ८ प्रतिशत मृत्यु चोटपटकका कारण हुने गरेकोे छ । मृत्यु धेरै गराउने नसर्ने रोगमध्ये मुटु तथा नसासम्बन्धी रोगहरू बढी देखिन्छ । नसर्ने रोगमध्ये कार्डियोभास्कुलर रोगबाट २४ प्रतिशत र इस्क्यामिक हर्ड डिजिज्बाट १२ दशमलव ३ प्रतिशत मृत्यु भएको देखिन्छ ।
यसैगरी दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुनेको संख्या १६ दशमलव ३ प्रतिशत रहेको छ ।
यसरी पछिल्लो समय नसर्ने रोगका रोगी बढ्नुको प्रमुख कारण मध्ये अस्वस्थकर खानपान, अल्छिपना, मानसिक तनाव, वायुप्रदुषण धूमपान, मद्यपान, लागूऔषध सेवन नै प्रमुख कारणका रुपमा देखिएका छन् ।
सरकारले विगत चार वर्षदेखि नसर्ने रोग नियन्त्रण तथा रोकथामका लागि कार्यक्रम पनि ल्याएको छ । तर, त्यो प्रभावकारी र प्राथमिकतामा भने खासै परेको देखिदैन ।
जसका लागि सरकारले बलियो कार्ययोजना बनाएर अगाडी बढ्नु पर्ने विज्ञहरुको सुझाव छ । साथै, आमनागरिक आफै पनि नसर्ने रोगको जोखिमबाट बच्न सचेत र सजक बन्न समेत जरुरी देखिन्छ ।