
- हरिशंकर शर्मा
धनुषा । राज्यले निजी लगानीलाई प्रोत्साहन गर्न सकेको छैन । उद्योगी पनि आफूले गरेकोे लगानी सुरक्षित हुने नहुनेमै आशंकित छन् ।
लगानी गर्ने वातावरण नहुनुका साथै उद्योगी व्यापारीहरु पलायन हुने अवस्था आएको निजी क्षेत्रको भनाई छ । तर सरकारले भनै निजी क्षेत्रसंगै सहकार्य गर्न खोजेको बताउदै आएको छ ।
सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकिरहेको गुनासो निजी क्षेत्रले गर्दै आएको छ । कोरोना संक्रमणपछि आर्थिक अवस्था संकटतर्फ उन्मुख भइरहँदा बैंक ब्याजदर चर्को वृद्धि गरिएको ब्यवसायीहरु असन्तुष्ट छन् ।
उद्योगी ब्यवसायीहरुले उद्योगी ब्यापारीहरु नै पलायन हुने अवस्था आएको बताइरहँदा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले निजी क्षेत्रलाई समेत समेटर औद्योगिक क्रान्तिको सपनालाई साकार बनाउने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको तेश्रो पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशमा रसायनिक मलको उद्योगको स्थापना गर्ने उद्योगीलाई प्रदेश सरकारले निःशुल्क जग्गा उपलब्ध गराउने घोषणा गरे ।
विदेश पलायन हुने युवालाई रोक्न स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने मुख्यमन्त्री यादवलको भनाइ छ । त्यस्तै, वन तथा पर्यटनमन्त्री रहबर अन्सारीले सरकारले जहिलेपनि उद्योगीहरुको हौसला बढाउने काम गर्नुपर्ने बताउँदै मधेश प्रदेश सरकारसँग उद्योगी व्यापारीहरुले पनि विश्वास गर्नुपर्ने बताए ।
ब्यवसायीहरुको हौसला बढाउने कार्यदेखि सुरक्षा दिने काम प्रदेश सरकारले गर्ने भन्दै विश्वास हुन मन्त्री अन्सारीले आग्रह गरे ।
सार्क उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले मधेश प्रदेशमा उद्योग व्यवसायको सम्भावना प्रवल रहेको कारण लगानी क्षेत्रलाई पहिचान गरि स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई भित्र्याउन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेशका नव निर्वाचित अध्यक्ष अशोक टेमानीले निजी क्षेत्र प्रदेश सरकारसँग समन्वय गर्न तयार रहेको उल्लेख गरे ।
उनले सरकारको खर्च वास्तविक ठाउँमा लगानी हुन नसकेको कारण पनि सरकारको धेरै लगानी खेर गई रहेको बताए ।
कार्यक्रममा सहभागी उद्योगी व्यापारीहरुले कोरोना महामारीदेखि थलिएको व्यापार व्यवसाय फस्टाउन नपाउँदै बैंकले दिने गरेको अनावश्यक तनाव एवं नेपाल सरकारले ल्याएको नीतिको कारण निजी क्षेत्र पीडामा परेको गुनासो ब्यक्त गरेका छन् ।