
काठमाडौं । नेपालमा डिजिटल बैंकिङमा समयअनुसार विभिन्न किसिमका परिवर्तन हुँदै आएको छ । जसले हरेक कारोबारलाई अझ धेरै सहजीकरण गरिरहेको छ । त्यसैगरी, नेपालमा डिजिटल बैंकिङमा सबैभन्दा पहिला आएको विकल्प एटीएम कार्डमा पनि परिवर्तन आएको छ ।
पछिल्लो समय एटीएम मेसिनबाट कार्डलेस ट्रान्जेक्शन अर्थात एटीएम कार्डबिना नै ट्रान्जेक्शन गर्न सकिन्छ ।
नेपालमा पहिलोपटक डिजिटल बैंकिङमा विकल्पको रुपमा भित्रिएको एटीएम कार्डमा समयानुसार परिवर्तन हुदै नयाँनयाँ आइरहेका छन् । हाल, एटीएम कार्डबाट हुने कारोबारमा कार्डलेस र कन्ट्याक्टलेस कारोबारको सुविधा पनि रहेको छ ।
नेपालमा पहिलोपटक सन् १९९५ मा लक्ष्मी बैंकले एटीएम कार्ड भित्राएको थियो । त्यसपश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुले एटीएमको सेवा प्रदान गर्न थालेका हुन् । सहज भुक्तानी प्रणालीले प्रख्यात भएको डिजिटल बैकिङमा एटीएमको आफ्नै महत्व छ । भलै यो पूर्ण रुपमा डिजिटल बैंकिङ होइन ।
किनभने, यसले कारोबार केहि हदसम्म नगद नै गरिरहेको हुन्छ । यद्यपि यसलाई डिजिटल बैंकिङकै साधन मान्नु पर्ने नेपालमा कार्ड प्रदान गर्दे आएको संस्था आइमार्कका प्रमुख कार्यकारी व्यवस्थापक सुवास पोखरेल बताउँछन् ।
डिजिटल बैंकिङमा पछिल्लो समय मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट लगायतका विभिन्न विकल्पहरु छन् । जो इन्टरनेटको माध्यमबाट पुर्णरुपमा नगदरहित कारोबार गर्छन् । तथापी एटीएममा पनि कन्ट्याक्टलेस ट्रान्जेक्शन लगायतका फिचरहरु भित्रिसकेका छन् ।
नेपाली बैंकिङ बजारमा डिजिटल बैंकिङलाई पुर्णरुपमा आत्मासाथ गरिसकेको अवस्था नभएपनि यसका ग्राहक भने दिन प्रतिदिन बढिरहेका छन् । जसले गर्दा पनि डिजिटल बैंकिङका प्लेअरहरुलाई नयाँनयाँ फिचर ल्याउन सहयोग पुगिरहेको छ ।