
काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले मन्त्रालयको कामलाई परिणाममुखबी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
सिंहदबारस्थित मन्त्रालयमा आज पदबहालीका क्रममा उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताइन्।
मन्त्री गुरुङले स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रसँग मिलेर काम गरेर नै परिणाम प्राप्त हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “मन्त्रालयको काम गर्ने धेरै ठाउँ छ । ग्रामीण भेगसम्म पुगेर भौतिक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता छ ‘टीम वर्क’का साथ परिणाम निकाल्ने गरी काम गर्न सबै कन्द्रित हुनुपर्छ ।” मन्त्री गुरुङले क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्ने आवश्यकता औँल्याइन्।
को हुन् मन्त्री गुरुङ ?
सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री गुरुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी कांग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्य पनि छन्। मन्त्री गुरुङ गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट विजयी भएकी हुन्। पूर्वराज्यमन्त्रीसमेत रहेकी गुरुङले तत्कालीन संविधानसभा सदस्यको भूमिकासमेतमा आफूलाई अब्बल सावित गरेकी थिइन् ।
गुरुङ सानै उमेरदेखि राजनीतिमा सक्रिय भई महिला शसक्तिकरण र महिलालाई सङ्गठित गरेर राजनीतिमा स्थापित भएकी नेता हुन्। साहित्यमा रुचि राख्ने गुरुङ विभिन्न आन्दोलनमा सक्रिय रहिन्। कांग्रेसको विद्यार्थी राजनीतिदेखि नै क्रियाशील गुरुङ नेपाल महिला सङ्घको तेह्रथुम अध्यक्ष हुँदै केन्द्रीय सचिव, पार्टीको महासमिति सदस्य र केन्द्रीय सदस्य बनेकी थिइन् ।