१७ चैत्र २०७९, शुक्रबार
  • अनमोल कार्की

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेका महेन्द्र मा.वि. मा दुइकोठे भवन बन्ने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार योजना विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिकाको सहयोगमा निमार्ण हुन लागिरहेको सो भवनको शिलान्यास मधेस प्रदेश सभा सदस्य युवराज भट्टराई ‘समिर’ ले एक कार्यक्रमको बीच गरेका छन् ।

शिलान्यस गर्दै भट्टराईले रौतहट जिल्ला शिक्षामा ७७ औं स्थानमा रहेका यहाँको शिक्षाको समग्र विकासको लागि आफुहरु निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले शिक्षानै विकासको जग भएकाले विकसित देशको लागि शिक्षित नागरिक हुनु अत्यावश्यक रहेकाले विद्यालयमा शैक्षिक सँगसँगै भौतिक विकासको लागि आफु तत्पर रहेको उनको भनाइ छ ।

कुल १८ लाखको वजेटमा असार मसान्तसम्म निमार्ण सम्पन्न गरिने सो भवन निमार्ण पश्चात विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई केही हदसम्म राहत पाउने विश्वास विद्यालयकी प्रधानाध्यापन कमला थापाले व्यक्त गरिन् ।

उनले आफुले विद्यालयलाई पर्खाल सहित घेराबेरा, शौचालय, भवनहरु निमार्णको लागि निरन्तर पहल गरिरहेको जनाउँदै सो विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन आफुहरु अग्रसर रहेको उल्लेख गरिन् । उनले कक्षा १० सम्म अध्यापन हुने सो विद्यालयमा विद्यालयमा विद्यार्थीहरुको संख्या पछिल्ला वर्षहरुमा निरन्तर बढ्दै गइरहेको जनाउँदै विद्यालयको भौतिक सँगसँगै शैक्षिक गुणस्तरको विकासमा पनि आफुहरु दत्तचित्त भएर लागि परेको दावी गरिन् ।

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष दुत्त बहादुर थिङ , चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत दिपेन्द्र मण्डल , संचारकर्मीहरु रमेश तिमल्सिना , सुब्बा कार्की लगायत विद्यालयका अभिभावक, शिक्षक तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

LIVE TV