१७ चैत्र २०७९, शुक्रबार
  • अनमोल कार्की

रौतहट । विभिन्न प्रलोभनमा परि भारत पुगेका ८ नेपाली बालकको भारतबाट उद्धार गरिएको छ ।

सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृती बाल तथा युवा सरोकार नेपालको सहयोगमा वाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा ती बालकहरुलाई उद्धार पश्चात जिल्ला प्रहरी कार्यालय रौतहटको रोहवरमा परिवारमा पुर्नमिलन गराइएको छ ।

उद्धार गरिएका ८ जनामध्ये ६ जनालाई परिवारमा पुर्नमिलन र २ जनालाई मानव सेवा आश्रम मार्फत् पारिवारिक पुर्नमिलन गर्ने गरि जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यसरी उद्धार गरेर ल्याइएका बालकहरु रौतहट, सर्लाही र बाँके जिल्लाका ११ देखि १६ वर्ष उमेर समुहका रहेका सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलिप कोइरालाले जानकारी दिए ।

उनले आफ्नो पालिका भित्रको बालबालिकाको लेखाजोखा राख्ने र बालबालिकाहरु विभिन्न प्रलोभनमा भारत र नेपालको अन्य जिल्लामा जानबाट रोक्ने पहल गर्नुपर्ने बताए ।

उनले विगत १५ बर्ष देखी बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको सामुदायिक विकास तथा सचेतना नेपालले भारतीय सामाजिक संस्था र भारतीय प्रहरीको समन्वयमा लामो समयदेखी भारतमा रहेका बालकहरुको उद्वार गर्दै आइरहेको जनाउँदै पछिल्लो समय नेपालबाट विभिन्न बहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरुमा लैजाने क्रम बढेको साथै बालिका तथा महिलामात्रै बेचविखनमा पर्ने नभईकन बालकहरु पनि उच्च जोखिममा रहेको यस घटनाबाट पुष्टि भएको बताए ।

बालबालिका सम्बन्धि ऐन २०७५ तथा नियमावली २०७९ को प्रभावकारी कार्यान्वयन फितलो हुँदा बालक तस्करी, बेचविखन तथा श्रम गर्न भारत लैजाने क्रम बढेकाले यसतर्फ राज्य गम्भिर भएर लाग्नुपर्नेमा जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सरोकारवालाको ध्यानाकर्षण गराए ।

सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारीका अनुसार बालकहरुलाई रोजगार , पैसा लगायतका विभिन्न प्रलोेभन देखाएर दलालहरुले भारतमा लगेर जोखिमपूर्ण श्रममा लगाउने , बेचविखन गर्ने लगातयतका समस्याहरु देखिएकाले सबै सरोकारवाला निकाय , नागरिक समाज हातेमालो गर्दै यसको रोकथामको लागि लाग्नुपर्नेमा जोड दिए ।

सो पारिवारिक पुर्नमिलन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख वीर बहादुर बुढा, प्रदेश बालबालिका खोज समन्वय केन्द्र जनकपुरका प्रहरी सहायक निरीक्षक विरेन्द्र कुमार मण्डल, जागृती बाल तथा युवा सरोकार नेपालका प्रतिनिधि अरविन खड्का, बालबालिका खोज तलास मधेश प्रदेश प्रतिनिधि विरेन्द्र मण्डल, सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँ, पत्रकार अशोक सुजन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

LIVE TV