
काठमाडौँ । मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेर काम गरेका डाक्टर स्वर्णीम वाग्ले अब राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने चर्चाले चुनावी वातावरण तताएको छ । बारा– २ र चितवन– २ को चुनावी चर्चापछि अब तनहुँ १ मा हुने भिडन्त पनि थप रोचक बन्ने देखिएको छ ।
नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र कोइराला पक्षका शेखर र गोविन्दराज पोख्रेललाई एसएमएस पठाएर अब आफू कांग्रेसमा नरहेको सन्देश दिएको विषयले बिहीबार दिनभर कांग्रेस सामान्य स्तरकै भए पनि तरंग चाहिँ उत्पन्न भएको छ ।
कांग्रेसलाई डाक्टर वाग्लेले ‘शेरबहादुर–आरजु कांग्रेस’को संज्ञा दिँदै यो पार्टीमा नरहेको सन्देश पठाएपछि उनीसँग सम्पर्क गर्ने र मनाउने प्रयासमा कांग्रेसको उच्च तहले प्रयास गरेको बताइएको छ ।
यसबीच बिहीबार अपरान्ह डाक्टर वाग्लेले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस दाजु–भाउजु, साला भतिजको असक्षम गिरोहमा परिणत भएको उल्लेख गर्दै कांग्रेस छाडेको घोषणा गरेका छन् ।
उनले आफ्नो स्टाटसमा लेखेका छन् :
वि. सं. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।
पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।
अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु।
मंसिर ४ मै कांग्रेसबाट चुनाव लड्न डाक्टर वाग्लेले कांग्रेसका केही नेताहरुको व्यक्तित्व टल्काउन परिश्रम गरेका थिए । विशेषगरी महामन्त्री गगन थापाको आवश्यकताभन्दा बढी प्रशंशा गर्दा डाक्टर वाग्ले हाँसोका पात्र पनि बने ।
रास्वपाले त्यही बेला काठमाडौंको कुनै क्षेत्र छानेर आफ्नो तर्फबाट उम्मेदवार बन्न उनलाई प्रस्ताव गरेको थियो । तर कांग्रेसबाटै टिकट पाउनेमा वाग्ले बढी आशावादी थिए । तर उनको आशामा सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डाक्टर आरजु राणा देउवाले तुषारापात गरेपछि अहिले उनले वैकल्पिक राजनीतिक माग अवलम्वन गरेको विश्लेषण गरिएको छ ।
तनहुँमा वाग्लेले चुनाव जित्छन् चाहिँ कसरी ?
तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेले राष्ट्रपतिमा निर्वाचित भइसकेपछि सो क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ । सो निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार पौडेल २५ हजार ३६१ मत सहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत ल्याएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले त कांग्रेसका बागी गोविन्द राज जोशीको भन्दा कम अर्थात ६ हजार ४४ मत मात्रै ल्याएका थिए । प्रश्न उठ्छ, चार महिना अघि चौथो स्थानमा रहेको रास्वपा कुन आत्मविश्वासका साथ पहिलो हुने आँट गरिरहेको छ त ?
विद्वान अर्थशास्त्री भनेर डाक्टर वाग्लेको पहिचान बनेको छ । कतिपयले वाग्ले जस्ता विद्वान देशलाई चाहिन्छ पनि भन्ने गर्छन् । यहि शाखलाई भजाउन सक्दा रास्वपाले तनहुँ १ आफ्नो पक्षमा पार्ने आशा गरेको हुन सक्छ ।
चार महिना अघि खसेको मतको आँकडा हेर्दा चाहिँ रास्वपाका लागि यो क्षेत्र फलामको च्यूरा नै हो । तनहुँ एकमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।
यता चितवन २ मा रवि लामिछानेसँग प्रतिस्पर्धा गराउन नेकपा एमालेले देवी ज्ञवालीलाई मैदानमा उतार्ने चर्चा छ । कांग्रेसले चाहिँ जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । श्रेष्ठ चितवन कांग्रेसका पूर्वसभापति हुन् ।
यता बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं उपनिर्वाचन लड्ने भएका छन् । उपनिर्वाचनको चोरबाटोबाट संसद प्रवेश गर्न अध्यक्ष यादवले त्यहाँबाट निर्वाचित आफ्नै पार्टीका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका थिए ।
उपेन्द्रको संसद यात्राको यो चाहनामा जसरी पनि ब्रेक लगाउन जनमत पार्टीले माओवादीबाट शिवचन्द्र कुसवाहलाई आफ्नो पार्टीमा प्रवेश गराएको छ । यसै क्षेत्रबाट लोसपाबाट राजेन्द्र महतो पनि उम्मेदवार बन्ने भएका छन् । लोसपा, जसपा र जनमत अहिले सत्ता गठबन्धनमै छन् ।
बारा २ को उपनिर्वाचन अन्यत्रको भन्दा बढी रोचक हुने देखिएको छ । किनभने मंसिर ४ मा माओवादीबाट चुनाव लडेका शिवचन्द्र कुशवाह रामसहायसँग ३ सयमात्रै मतले पराजित भएका थिए ।
तिनै शिवचन्द्र अहिले जनमतमा प्रवेश गरेर उपेन्द्रलाई टक्कर दिने छन् । गएको निर्वाचनमा जनमतका राजेस शाह पाँचौ स्थानमा थिए । उनले २७ सय २५ मत प्राप्त गरेका थिए । विजयी राम सहायले १३ हजार ८ सय २२ मत पाएका थिए । यस क्षेत्रमा एमाले र रास्वपाको खास चर्चा गरिँदैन ।