
काठमाडौँ । कैलालीको लम्कीचुहा– ३ मा लाखौं खर्चेर एक झोलुंगे पुल बनाइँदैछ । निर्माणका क्रममा स्थानीयले श्रम गरे, सो बापत ८ लाख ७१ हजार उपभोक्ता निर्माण समितिले निकासा गर्यो । तर ज-जसलाई श्रमिक बनाएर ज्याला बाँडियो, ती मानिसहरुको नाम त त्यहाँ छ, तर त्यस्तो नाम गरेका मान्छे चाहिँ त्यस क्षेत्रमै कोही पनि छैनन् ।
यस्तो देखिएपछि हाम्रा टिभी जर्नलिष्ट खेम ढुंगाना झोलुंगे पुल उपभोक्ता निर्माण समितिका अध्यक्ष पूर्णप्रसाद बजगाईंसमक्ष पुगेर सोधेका छन्– हुँदै नभएका मान्छे खडा गरेर रकम चाहिँ कसलाई निकासा गर्नुभयो ? यो प्रश्न सुनेपछि अध्यक्ष बजगाईँमाथि देउता सवार भए । उनी बर्बराउन थाले । प्रतिप्रश्न गर्दै भने– तपाईं पत्रकार हो कि कुनै दलको झोले ? हेरौं यो विशेष रिपोर्ट :
यी हुन् लम्कीचुहाँ नगरपालिका वडा नम्बर ३ स्थित शान्तिटोलदेखि कोपिला सामुदायिक वन जोड्ने धोबेनी खोलामा निर्माणाधिन झोलुंगे पुल उपभोक्ता समितिका अध्यक्ष पूर्णप्रसाद बजगाईँ ।
अध्यक्ष बजगाईंको समितिले झोलुंगे पुल निर्माणमा जुटेका श्रमिकहरुका लागि ८ लाख ७१ हजार रुपैयाँ भुक्तानी दिएका छन् । तर यो रकम जसलाई दिइयो भनिएको छ, त्यस्तो नाम गरेका मानिसहरु यस क्षेत्रमा कतै पनि छैनन् । हुँदै नभएका श्रमिकको नाम खडा गरेर कीर्ते हस्ताक्षर गरेर ज्यालाको रकम हिनामिना गरिएको आवाज उठेपछि हामी अध्यक्ष बजगाईंलाई भेट्न पुग्यौं ।
तर हाम्रो प्रश्न सुन्ना साथ अध्यक्ष बजगाई धामी झै बर्बराउन थाले । उनीमाथि देउता चढे । अध्यक्षमाथि देउता चढ्दा उनको यो हर्कत हेर्नुहोस् (भिडियोमा) ।
हाम्रो प्रश्न थियो – यो समितिको निर्णय हो भने तपाईका सचिव नै तपाईसँग किन छैनन् त ?
प्रश्नको जवाफ दिन अध्यक्ष बजगाई खाता पल्टाउँछन् । उनले जवाफ देलान भनेर हाम्रो क्यामेरा पनि तयार हुन्छ । तर अध्यक्ष धामीमा परिणत हुन्छन् । नबुझिने भाषामा ‘शक्ति–सत्यको सुरक्षा’ यस्तै यस्तै शब्दमा उनी बर्बराउन थाल्छन् । अध्यक्षमा देउता चढेको उनका निकट दुई युवाले बुझ्छन् । अनि क्यामेरा र अध्यक्षको बीचमा उनीहरु आउँछन् ।
अध्यक्ष बजगाईमा चढेका देउता वा भूत जे हुन्, यो तामसिक दृश्य फेरि हेर्नुहोस् ।
झोलुंगे पुल निर्माणका क्रममा १८ लाख रुपैयाँ खर्च भएको स्थानीयले दावी गरेका छन् । समितिले कीर्ते हस्ताक्षर गरेर ८ लाख ७१ हजार रुपैयाँ झ्वाम पारेको स्थानीय बताउँछन् । गाउँमै नभएका व्यक्तिको नाममा समेत रकम निकासा भएको छ ।
भागबन्डा गर्दा विवाद उत्पन्न, अनि सतहमा आयो
पुलको निर्माण सकिएको भन्दै समितिले सार्वजनिक सुनवाई गरिसकेको छ । सार्वजनिक सुनवाई समेत गरिसकेपछि स्थानीयले पुल निर्माणका क्रममा भ्रष्टाचार भए नभएको तिर ध्यान दिएका थिएनन् । तर श्रमिकको ज्याला भनेर निकासा गरिएको अन्तिम किस्ताको ८ लाख ७१ हजार रुपैयाँमा विवाद सुरु भयो । अध्यक्ष बजगाईको घरमा र सचिव महेन्द्र तिमिल्सिनाबीच गोप्य बैठक पनि बस्यो । सो रकम कसले कति पाउने भन्ने विषयमा झमेला सुरु भएको बताइन्छ ।
यतिकैमा दुवैबीच हात हालाहाल नै भयो । रातको सममा सचिव तिमिल्सैनाले ‘बजगाईँले मार्यो मार्यो’ भन्दै कराएर भाग्दै बाहिर आउँछन् । अध्यक्षको घरबाट भागेर सचिवले ज्यान जोगाएको जस्तो देखिएपछि स्थानीयले समेत विवादको चुरो चाल पाउँछन् ।
समितीले सर्वसाधारण ब्याक्तीको मात्र किर्ते गरेको छैन, स्थानिय पत्रकार देवावन्द न्यौपानेले समेत २५ दिन काम गरेको भनेर उनका नाममा समेत रकम निकासा गरिएको छ । पत्रकार न्यौपानले २५ दिन काम गरेर १५ हजार २ सय ५० रुपैया बुझेको समितिको अभिलेखमा छ ।
भ्रष्टाचारको यस्तो मामिला थाहा पाएपछि स्थानीयले न्युज ट्वान्टी फोरको सुदुरपश्चिम ब्युरोलाई खबर गरेका थिए । स्थानीयको गुनासोपछि हाम्रो टोली अध्यक्ष बजगाईलाई भेट्न पुग्दा उनले जवाफ दिनुको सट्टा देउता चढेको नाटक गर्न थाले ।
यो झोलुङ्गे पुल निमार्ण का लागी करीब ६५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये १८ लाख बचत भएको तर बचतलाई पनि ज्यालाका रुपमा खर्च देखाएर निर्माण समितिका पदाधिकारले बाँडचुँड गरेका स्थानीयको आरोप छ ।
ज्याला पाउनेका रुपमा उल्लेख गरिएका कतिपय मानिसहरु गाउँमै छैनन् भने कतिपय अध्ययनको सिलसिलामा काठमाडाँैमा छन् । केही भारततिर छन् ।
समतिका अध्यक्ष र सचिव नाताले भिनाजु र साला भएको समेत खुल्न आएको छ । परिवारकै सदस्य र आफन्त लाई राखेर उपभोक्ता समिति गठन गरीएकोले अझै वढी रकम चलखेल भएको हुन सक्ने स्थानियको शंका छ । पुल निर्माण को लागी खरिद गरिएका सिमेन्ट ढुंगा गिट्टी वालुवा अध्यक्ष बजगाइले आफ्नो निजी घर बनाउन दूरुपयोग गरिएको स्थानीयको आरोप छ ।
यो पुल बनाउन लम्की चुहा नगरपालिकाले बजेट विनियोजन गरेको थियो । पुल निर्माणमा भएको अनियमितता छानविन गर्ने पहिलो दायित्व अब नगरपालिकाकोे जिम्मा आएको छ ।