१७ चैत्र २०७९, शुक्रबार

काठमाडौँ । सरकारमा सहभागी हुने दल र आकांक्षीहरु धेरै भएपछि मन्त्रीका लागि भागबण्डा मिलाउनै सकस परेको छ । बुधबारै मन्त्रिपरिषद विस्तार गर्ने बताउँदै आएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्म पनि मन्त्रीहरु नियुक्त गर्न सकेनन् । अब आज (शुक्रबार) जसरी भए पनि मन्त्रिपरिषद् विस्तार गर्ने र नयाँ मन्त्रीहरुलाई आजै शपथ खुवाउने तयारी भइरहेको बताइएको छ ।

बिहीबार मन्त्रालय भागठबन्डा नमिलेपछि शुक्रबार बिहान एकपटक सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भाबण्डा टुंगो लगाउने र अनि मन्त्रिपरिषद् विस्तार गरिने बताइएको थियो ।

आज दलहरुले मन्त्रीहरुको नाम तय गरेर प्रधानमन्त्रीसामु बुझाउने र आजै दिउँसो ३ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरिएको स्रोतको दाबी छ । केही मन्त्रालय र मन्त्रीहरुको भागबण्डा मिलिसकेको भए पनि केहीमा अझै मिल्न बाँकी रहेको छ । बाँकी विषय पनि आजै मिलाएर सरकार विस्तारलाई पूर्णता दिने गठबन्धनको तयारी रहेको छ । सत्ता गठबन्धनमा सहमति जुटाएर आजै अपराह्न मन्त्रीहरूले शपथ खानेगरी तयारी भइरहेको बताइएको हो ।

सत्ता साझेदार दलहरुले आज दिउँसोसम्म मन्त्रीको सूची बनाएर प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएका छन् । नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने र माओवादी केन्द्रले ५ वटा मन्त्रालय राख्ने सहमती १० दलीय गठबन्धनमा भएको छ । यसैगरी जसपा र एकीकृत समाजवादीले २–२ मन्त्रालय पाउने भएका छन् । सिके राउतको जनमत पार्टीले १ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको बताइएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेसपा लगायत केही साना दलले पनि १–१ मन्त्रालय पाउने भएका छन् । मन्त्रीहरुको नाम भने सम्बन्धित दलले नै तय गर्ने छन् ।

LIVE TV