१६ चैत्र २०७९, बिहीबार

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको दाबी गरेका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै बिहीबार उनले देशमा राजनीतिक स्थायित्व कायम हुने दाबी गरेका हुन् ।

नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ,’ सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, “मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।”

बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनुले छुट्टै महत्व बोकेको पनि उनले बताए । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने उनकाे विश्वास छ ।

उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागिपरेको उनल बताए । भने, ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्वका साथ छलफल गर्नेछु ।’

लुम्बिनी विमानस्थलका विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलका विषयमा चीनसँग छलफल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्वका साथ अघि बढाएको पनि उनको भनाइ छ । द्रुतमार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताएका हुन् ।

चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै प्रधानमन्त्रीले  त्यहाँबाट समेत छिट्टै उडान हुने बताए । उनले भने, ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो । विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुङ्गाका रुपमा काम गर्नेछ ।’

भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको व्यारेकलाई भरतपुर महानगरपालिका–१ स्थित दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उनले स्थानान्तरणका लागि एक दुई दिनमा सहमति हुने बताए ।

कार्यक्रममा नागरिक उड्डयन, संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले सरकार ग्रामीणस्तरमा समेत हवाई उडान गर्ने योजनामा रहेको बताए । ग्रामीणस्तरको ‘लाइफलाइन’का रुपमा यसको विकास गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।

भरतपुर विमानस्थलको विस्तार र ट्रमिनल भवन निर्माणसँगै रात्रिकालीन उडान र अवतरणसमेत सुरु हुने उनको भनाइ थियो । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले भरतपुर विमानस्थल विस्तारको कामले बागमती प्रदेशमा नै खुशियाली छाएको बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, हरि सापकोटा, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी लगायतले बोलेका थिए ।

कस्ताे छ विमानस्थलकाे अवस्था ?

नयाँ ट्रमिनल भवन र विस्तारको काम सुरु गरिएको यस विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको थियो । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एशियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइएको थियो ।

देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । ५८ बिघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलको धावनमार्ग अहिले एक हजार दुई सय मिटरको छ । विस्तारपछि धावनमार्ग एक हजार पाँच सय मिटरको हुनेछ । नयाँ ट्रमिनल भवनमा एक हजार यात्रुले सहजरुपमा उपभोग गर्न सक्नेगरी बनाउन लागिएको छ ।

चौध कठ्ठा क्षेत्रफलमा आठ हजार वर्ग मिटरको दुईतले ट्रमिनल भवन निर्माण गरिनेछ । भवनसँगै आठतले कन्ट्रोल टावर, पार्किङजस्ता अन्य संरचना निर्माण गरिनेछ । यसका लागि रु एक अर्ब ९२ करोडमा निर्माण कम्पनी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका छन् ।

LIVE TV