
काठमाडौँ । नेपाली काँग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा रवि लामिछाने हार्ने र आफूले जित्ने दाबी गरेका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सञ्चरकर्मीहरुसँगको कुराकानीमा उनले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरे । गत मंसिर ४ मा भएको निर्वाचनमा उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने विजयी बनेका थिए । नेता श्रेष्ठले उक्त निर्वाचनमा लामिछनेले फण्डा गरेर जितेको आरोप समेत लगाए । अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताउँदै उनले लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको बताए ।
रास्वपाले सरकारलाई दिएको विश्वासको मतको कारण जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पष्ट बुझिसकेको उनको दाबी थियो । वैशाख १० गतेको निर्वाचनमा मंसिरको भन्दा उल्टो परिणाम आउने समेत उनले दाबी गरे ।
‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्,’ उनले भने, ‘कसले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनु नपर्ने, के कारणले हो भन्नेकुरा जनतालाई भन्नु नपर्ने, पार्टीबाट निर्णय गर्नुपनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ । मंसिरको उल्टो परिणाम अब आउनेछ ।’
सत्ता साझेदार दलहरुको साझा उम्मेदवार आफू हुन्छु भन्ने कुरामा उनले विश्वस्त रहेको बताए । भने, ‘तत्कालीन उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्थ्यो, उहाँले प्रचारबाजी गर्नुभयो । फण्डाहरु दिनुभयो, त्यो फण्डामा एक पटक होकि त भनेर चितवनका जनताहरु झुक्किएको अवस्था थियो । अहिले पूर्णरुपमा उसका गतिविधिबाट राम्रोसँग उसको वास्तविकता बुझे । नाकको डाँडी भाच्ने भन्नेलाइ जनताले बुझेका छन्, कसको रहेछ नाकको डाँडी भाँच्नुपर्ने जनताले बुझेका छन् ।’