१६ चैत्र २०७९, बिहीबार
  • ज्योतिकुमार पन्थी

बर्दिया । नेपाल भारत सीमा जोडिएका बर्दियाका धेरै सीमा स्तम्भहरु जीर्ण अवस्थामा पुगेका छन् । सीमा क्षेत्रमा रहेका २ सय ४५ मध्ये कतिपय स्तम्भहरु हराएका छन् भने कतिपयलाइ नदिले बगाएको छ । सीमामा राखिएका स्तम्भहरुमध्ये जोर संख्याका भारतले र विजोर संख्याका नेपालले मर्मतसम्भार गर्नु पर्ने सहमति रहेको छ ।

बर्दियामा भारत र नेपाल सीमामा २ सय ४५ वटा सीमा स्तम्भ रहेका छन् । सीमामा राखिएका मध्ये सहमति अनुसार भारतले मर्मतसम्भार गर्नु पर्ने स्तम्भहरु मर्मत गरेको एक वर्षभन्दा बढि भइसक्यो । तर नेपालले आफुले मर्मत गर्नुपर्ने स्तम्भहरु जिर्ण बनिसक्दा पनि चासो देखाएको छैन ।

बर्दियाका ८ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तह भारतको बहराईच जिल्लासँग जोडिएको छ ।

गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकाका भारतिय सिमासँग जोडिएका पालिकाहरु हुन जसमध्ये बढैयाता गाउँपालिकाका ४ वडा, गुलरिया नगरपालिकाका ७ वटा वडा, मधुवन नगरपालिकाका ४ वटा वडा र राजापुर नगरपालिकाका ४ वटा वडा गरि १९ वटा वडाहर भारतीय सिमानासँग जोडिएका छन ।

नेपाल भारत सीमा क्षेत्रमात्र मुख्य सीमा स्तम्भ ४२, सहायक सीमा स्तम्भ ६८ र सानो सीमास्तम्भ १ सय ३५ गरी कुल २ सय ४५ सीमा स्तम्भ रहेका छन् ।

जस मध्ये बर्दियामा मात्रै मर्मत गर्नु पर्ने मुख्य स्तम्भ १ सहायक स्तम्भ २ र सानो स्तम्भ १८ गरी २१ वटा रहेका छन् ।

त्यस्तै सहायक र सानो गरी ३४ वटा सीमा स्तम्भ नदिले बगाएको छ । नेपाल भारत सिमाना छुट्याउँने मुख्य स्तम्भ ५, सहायक स्तम्भ ९ र सानो स्तम्भ ५८ गरी कुल ७२ वटा स्तम्भ अहिलेसम्म फेला पर्न सकेको छैन ।

शसस्त्र प्रहरीले सम्बन्धित निकायमा लिखित रुपमा जानकारी गराएको एक वर्ष बितेपनि सीमा स्तम्भ मर्मत तथा रंगरोगन समेत हुन सकेको छैन ।

बर्दियाको भारतसँग सीमा जोडिएको ८३ किलोमीटरमा रहेको स्तम्भमध्ये ९० वटा मात्रै चूस्त दुरुस्त छन् ।

त्यस्तै २८ वटास्तम्भ मर्मत सम्भार र २१ वटा पुन निर्माण गर्नु पर्ने अवस्थामा छन् । नदिले बगाएका ३४ सहित कुल ७२ वटा स्तम्भ अहिले सम्म पनि नेपाल भारत सिमा क्षेत्रमा फेला पार्न सकिएको छैन ।

सीमा स्तम्भ नभएका कारण सीमा कुनै पनि समय सीमा क्षेत्रमा तनावको स्थिति आउने सम्भावना रहेको छ ।

LIVE TV