१५ चैत्र २०७९, बुधबार
  • रितीक अधिकारी

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकाका विभिन्न राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासी आन्दोलित भएका छन् ।

हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद साह र प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले चरण भ्रष्टाचार गरेको भन्दै नगरपालिकाका ९ वडा मध्ये ४ वटा वडाध्यक्षसहित विभिन्न राजनीतिक दल र स्थानीयवासी आन्दोलित भएका हुन् ।

आन्दोलनकारीहरुले ‘भ्रष्टाचारी नगर प्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत न्यौपाने मुर्दावाद,’, ‘प्रमुख प्रशासकीय अधिकृत न्यौपाने नगरपालिका खाली गर,’ लगायतका नारा लगाएका छन् । नगर प्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको विरुद्धमा नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायत दलहरुसँगै वडाध्यक्ष र स्थानीयवासी पनि आन्दोलनमा सहभागी भएको माओवादीकाका स्थानीय नेता जागेश्वर रायले बताए ।

आन्दोलनमा सहभागी हुने वडाध्यक्षहरुमा नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष दिनेश यादव, ३ का वडा अध्यक्ष प्रमोद राय यादव, ६ का वडा अध्यक्ष रामस्वागराथ राय यादव र वडा नम्बर ७ का वडा अध्यक्ष उमेश यादव रहेका छन् ।

आन्दोलनकारीहरुले कुचो र भाटासहित र्याली निकालेर नगर प्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध नारावाजी गर्दै नगरपालिका कार्यालय घेराउ गरेर नगरपालिकाको कार्यलयमा तालाबन्दी गरेका छन् ।

एमाले नेता जय प्रकाश यादवले साह नगरप्रमुख भएर आएदेखि नगरपालिकामा व्यापक भ्रष्टाचार भएको र विकासले गति लिन नसकेको बताए । उनका अनुसार नगर प्रमुख साह विकास विरोधी रहेका कारण आफूहरुले आन्दोलनमा उत्रिन बाध्य हुनु परेको हो ।

हरिपूर्वा नगरपालिका अहिले हरिपूर्वा बजारस्थित नगर प्रमुख साहकै घरमा भाडा तिरेर सञ्चालन भइरहेको छ । नगरपालिकाको भवन बनाउन गत वर्ष जग्गा प्राप्त भइसकेको भए पनि अहिले सम्म कुनै सुरुसार भएको छैन। राजनीतिक विवादले नगरमा विकासका कामै हुन नसक्दा हरिपूर्वावासी निराश बनेका स्थानीय युवा नेता विरेन्द्र प्रसाद यादवले बताए।

यता, राजनीतिक हानाथापकै कारण नगरपालिकामा यो वर्ष अहिलेसम्म योजना सञ्चालन गर्न नसकेको नगर प्रमुख साह बताउँछन् । उनका अनुसार जनप्रतिनिधिहरुबाटै अराजक शैलीमा अनावश्यक प्रदर्शन भइरहेकाले योजना सञ्चालन हुन ढिलाइ भएको छ ।

मठको जग्गामा नगरपालिकाका विभिन्न शाखा राख्नका लागि टहरा बनाउन लागिएकोमा अनावश्यक विवाद झिकेर आन्दोलन चर्काएको नगर प्रमुख साहको भनाइ छ । हरिपुर्वा नगरपालिकाका नगर प्रमुख र उप प्रमुख दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हन् । हाल दुवै जना काठमाडौंमे रहेका छन् ।

LIVE TV