१५ चैत्र २०७९, बुधबार

काठमाडौं । समान्यतया बालबालिकाहरुमा मनोरोग हुदैन भन्ने आम बुझाइ छ । तर बालबालिकाहरुमा पनि मनोरोगको समस्या हुने गरेको छ ।

सबै बालबालिका तथा किशोरकिशोरीमा देखिने मनोरोगको औषधि नै प्रयोग गर्नुपर्छ भन्ने चाँही हुँदैन । बालबालिकामा देखिने यस्ता समस्यालाई कसरी निको पार्न सकिन्छ त ?

मानसिक स्वस्थ्यको कुरा गर्ने हो भने, बालबालिकामा एन्जाइटी तथा डिप्रेसन प्रमुख समस्याका रुपमा लिने गरिन्छ । एक अध्ययन अनुसार विश्वमा ३ वर्षदेखि १७ वर्षका ७ प्रतिशत बालबालिकामा एन्जाइटीको समस्या देखिने गरेको छ ।

साथै यहि उमेर समूहका करिब ३ प्रतिशत बालबालिका तथा कशोर किशोरीहरुमा डिप्रेसनको समस्या देखिएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०७७ अनुसार नेपालमा १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा २ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्या, शून्य दशमलव ६ प्रतिशतमा डिप्रेसन देखिएको छ ।

साथै ३ दशमलव ९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोँच आएको सर्वेक्षणमा उल्लेख छ । बालबालिका तथा किशोरकिशोरीहरुमा उमेर अनुसारको मनोरोगको प्रकृति पनि फरक फरक हुने गरेको बाल मनोचिकित्सकहरु बताउँछन् ।

मनोचिकित्सकका अनुसार ६ वर्ष मुनिका बालबालिकामा उमेर अनुसार शारीरिक विकास नहुनु, डरका कारण उत्पन्न हुने एन्जाइटी डिसअर्डर, सिजोफ्रेनिया, बच्चाहरु बढी चकचक गर्नु, जस्ता लक्षणहरु मानसिक रोगका लक्षणहरु हुन् ।

साथै स्कुल जाने बालबालिका स्कूल जान नमान्नु, एक्लै बस्न रुचाउने, झगडा गर्ने जस्ता समस्या पनि मनोरोगका लक्षणहरु हुन् । कान्ति बाल अस्पतालमा सञ्चालित बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रमा हाल दैनिक ३५ जना भन्दा बढि बालबालिकाहरुमा यस्तै समस्या लिएर अभिभावक आउने गरेका छन् ।

कोरोना महामारीको समयमा बालबालिकामा मानसिक समस्या बढि देखिए पनि अहिले संख्यात्मक रुपमा केहि कमी आएको छ । तर मानसिक स्वास्थ्य महत्वपूर्ण भएकाले यदि आफ्ना बालबालिकाको व्यवहारमा केहि परिर्वतन देखिएमा वा मनोरोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा उपचारका लागि अस्पताल जान ढिलाइ गर्न नहुने मनोचिकित्सक बताउँछन् ।

मानसिक समस्या भएमा निको हुँदैन, जीवनभर औषधि नै खानुपर्छ भन्ने सोंचाइ अहिले पनि कायम छ, तर सबै मनोरोग एकै प्रकारका नहुने र सबै खालका उपचारमा औषधि नै खानुपर्छ भने हुदैन ।

त्यसैले बालबालिका तथा किशोर–किशोर व्यवहार र विकाससम्बन्धी देखिने समस्या समयमा नै समाधान गर्न आवश्यक छ । समयमा नै समस्या समाधान गर्न नसकिए कडाखालको मानसिक समस्या हुने अवस्था आउन सक्छ ।

LIVE TV