
काठमाडौं । एनआरएन अभियानमा सक्रियहरुका लागि कृष्ण लामिछाने नयाँ नाम थिएन । अमेरिकै बसेर भए पनि सामाजिक क्रियाकलापमा व्यस्त थिए ।
नेपाली समाज टेक्सस तथा जनसम्पर्क समितिमा उनले अध्यक्षका रुपमा काम पनि गरिसकेका थिए ।
घरेलु हिंसाको सिकार भएका लामिछाने अमेरिकाको टेक्सस स्थित आफ्नै घरमा पाँच दिन अघि मृत फेला परेका थिए ।
उनको असमान्य मृत्यु पछि उनकी पत्नी र छोरीमाथि दोषारोपण पनि गरियो । तर कृष्णका बाबुले भने सत्य तथ्य नबुझी कसैमाथि पनि आक्षेप लगाउन नहुने बताएका छन् ।
लामिछानेको मृत्यु पछि उनीमाथिको घरेलु हिंसा, उनको शरिरमा कुटपिटको चोटका तस्बीर पनि सार्वजनिक भएका छन् ।
अमेरिकामा रहेर एनआरएन अभियानमा सक्रिय गोर्खाका कृष्ण लामिछानेको असमान्य निधन भएपछि विभिन्न शंका र दावी गरिए ।
अमेरिकाको टेक्सासमा बस्दै आएका लामिछाने घरेलु हिंसाको सिकार भएका थिए । उनकी पत्नी माला र एक छोरीले लामिछानेमाथि हिंसा गरेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
लामिछानेसँग परिचित अमेरिकामा बस्ने अन्य नेपालीहरुले घरेलु हिंसा,यातना समेतका कारण उनले मृत्यु रोजेको दावी गर्दै आएका थिए ।
नेपाली समाज टेक्सस तथा जनसम्पर्क समितिका पूर्वअध्यक्ष रहेका लामिछानेको मृत्युका सम्बन्धमा यसबीच केही शंकाहरु र दावी नै गरिए ।
जस्तो कि
–कृष्णको मृत्युमा घरकै मान्छेको संलग्नता छ ।
– यो आत्महत्या होइन, हत्या हो ।
–कृष्णलाई घरमै थुनेर उनको ड्राइभिङ लाइसेन्स पनि खोसिएको थियो ।
– पत्नी मालाले हत्या गर्ने धम्की दिने गर्थिन् ।
यी र यस्ता अनेक प्रकारका शंका र दावीहरु गर्नेहरु अहिले चाहिँ आफ्नो बोली फेर्न थालेका छन् ।
नेपालमा रहेका कृष्णका बाबु रामप्रसाद लामिछानेले आफ्ना छोराको मुख हेर्ने इच्छा राखेर एक पत्र पनि लेखेका छन् ।
उनले पत्रमा केही समय दाह संस्कार नगर्न आग्रह गरेका थिए । तर हिजो शनिबार अन्त्येष्टि गरिसकिएको छ ।
छोराको मृत्युको शोकमा डुबेका बाबु रामप्रसादले गरिएका शंका र दावी अहिले फेरिन थालेको बताएका छन् ।
पहिले अमेरिकाबाट सूचना दिनेहरुले एकै खालको कुरा गर्ने गरेको तर अहिले त्यस्तो सूचना दिनेहरुले समेत आफ्नो बोली फेर्न थालेको बताए ।
यो विषयको तथ्य थाहा नभई कसैलाई पनि आक्षेप लगाउनु गलत हुने उनले सिधाकुरासँगको टेलिफोन सम्वादमा बताए ।
लामिछानेमाथि पत्नी र छोरीको त्यो व्यवहार : कुटपिट र यातनाको सिकार
कृष्ण लामिछाने– उनकी पत्नी माला र छोरीबीच भएको झगडाको भिडियो क्लिप हेरेर अहिले धेरैले लामिछानेकी पत्नीविरुद्ध आक्रोश पोखिरहेका छन् ।
भिडियो क्लिपमा कृष्णले १८ वर्षको कमाई लुकाएको दावी गर्दै ‘चिरेर नुन खुर्र्सानी हालेर झुन्ड्याउनु पर्ने’ बताएकी छिन् ।
छोरीले समेत आमाको पक्ष लिँदै ‘आमाले त मार्नु पर्ने हो’ भनेर बोलेकी छिन् ।
पत्नी र छोरीले कृष्णलाई पापी र मारेर झुन्डयाउनु योग्य भनेर गाली गलौज गरेको भिडियो क्लिपले पुष्टि गर्छ ।
पत्नीले कृष्णलाई गरेको गाली गलौजले आर्थिक व्यवहार बिग्रेको संकेत पनि गर्छ । घरको पैसा कृष्णले बाहिरकी प्रेमिकालाई दिएको आरोप पत्नी मालाको थियो ।
(भिडियो)