१२ चैत्र २०७९, आईतवार
  • बिमल क्षेत्री

बुटवल । केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै त्यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा, लोसपा, राप्रपासहितका दलहरुको समर्थनमा मुख्यमन्त्री बनेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी दुई महिनामै अल्पमतमा परेका छन् ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । गिरी सरकारलाई समर्थन गरेका र सरकारमा सहभागी भएका दलहरुले आईतवार राजीनामा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।
गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएर माघ ५ गते विश्वासको मत पाएका एमाले संसदीय दलका नेता लिला गिरी केन्द्रीय राजनीतिमा आएको उतारचढावले दुई महिनामै अल्पमतमा परेका छन् । गिरीलाई समर्थन गरेका र सरकारमा सहभागी दलहरुका २५ प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख शेरचनलाई बुझाए पछि गिरी अल्पमतमा परेका हुन् ।लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाइएको छ ।

आइतबार प्रदेश प्रमुख शेरचन समक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो । कांगेसका २७, नेकपा माओवादी केन्द्रका १०, जनमत पार्टी, जसपा, लोसपाका तीन–तीनसँगै नागरिक उन्मुक्तिका चार , नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक–एकजनाको हस्ताक्षर बुझाइएको हो । लुम्बिनी प्रदेशमा जम्मा ८७ जना सांसदहरु छन् । प्रदेश प्रमुख शेरचन समक्ष बुझाइएको बहुमत सांसदहरुले हस्ताक्षरसहित नयाँ मुख्यमन्त्री नियुक्तिको माग गर्दै गठबन्धनमा आवद्ध दलहरुले संविधानको धारा १६८, २ अनुसार सरकार गठनका लागि मागसमेत गरेका छन् ।

यसअघि पनि लुम्बिनीमा प्रदेशका दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धारा अन्तर्गत सरकार गठन गरिएको थियो । यता पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले पछिल्लो राजनीतिक घटनाक्रमले देशमा स्थिर सरकार चल्न नसकेको भन्दै विकास निर्माण र समृद्धि स्थापित गर्न नसकिएको बताउँदै बहुमत सांसदहरुको माग दाबीलाई आफूले बुझेको भए पनि वर्तमान मुख्यमन्त्रीले संविधान अनुसार १ देखि २ महिनासम्म लम्ब्याउन सक्ने संविधानमा स्पष्ट लेखिएको जनाउँदै त्यसपछिको विकल्प राजीनामा दिनुभन्दा अरु नभएको बताए ।

सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, जनमत र जसपा सकारबाट बाहिरिएको छ । आइतबार माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारबाट राजीनामा दिएका हुन्। माओवादी केन्द्रबाट लुम्बिनीमा जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना मन्त्री बनेका थिए भने जनमत पार्टीका संसदीय दलका नेता सिके गुप्ताले पनि मुख्यमन्त्रीलाई राजीनामा दिएका छन् । जनमत, जसपा र माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले राजीनामा दिएको पार्टीहरुले जनाएका छन् ।

माओवादी संगै साना दलहरु सरकराबाट बाहिरिएसँगै मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन् । लुम्बिनीमा एमाले र राप्रपाबाहेक अन्य सबै दल एकातर्फ लागेका छन् । डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदको समर्थन रहेको दाबी गरिएको छ ।

LIVE TV