१२ चैत्र २०७९, आईतवार

नुवाकोट । खानेपानीको चरम समस्यामा परेका नुवाकोट ककनी गाउँपालिका–७, बरबन्दीका स्थानीयहरु खानेपानी गाउँसम्म लैजानको लागि मुहानबाट पाइप बिछ्याउने काममा लागि परेका छन् ।

मुहानबाट गाउँ करिब १५ किलोमिटरको दूरीमा पर्छ । हप्ता दिनदेखि निरन्तर घर धुरीको आधारमा स्थानीयहरु जम्मा भएर खानेपानी ल्याउन लागिपरेका छन् ।

प्रत्येक घरबाट एक जना अनिवार्य उपस्थित हुनुपर्ने शर्तसहित ‘एक घर एक धारा’को अवधारण अपनाएर खानेपानी ल्याउन लागिपरेको वडा अध्यक्ष रामकृष्ण तामाङ्ग बताउँछन् । ११६ घरधुरी रहेको बरबन्दी–७ मा स्थानीयले वर्षाैदेखि खानेपानीको समस्या झेल्दै आइरहेको उनले बताए ।

अहिले खानेपानी ल्याउनका लागि लिभिङ्ग वाटर नेपाल नामक संस्थाको विशेष पहल रहेको छ । वडामा खानेपानी ल्याउनका लागि १८ लाख बजेट लिभिङ्ग वाटर नेपाल बाट आएको र बाँकी जनश्रमदानबाट परिपूर्ति गरिने उपभोक्ता समितिका अध्यक्ष शुभोत तामाङ्गले बताएका छन् । अब भने वर्षाैदेखि भोग्दै आएको खानेपानीको समस्याको समाधान हुन लागेपछि स्थानीको मुहारमा खुसी छाएको छ ।

उक्त कार्यलाई हौसला प्रदान गर्न ककनीका जुजारु युवा नेता एवं समाजसेवी ऋषि कुमार तामाङ्ग बरबन्दी पुगेका थिए । उनले आउँदा दिनहरुमा यहाँका जनताहरुलाई सहयोग गर्ने आश्वासनसमेत दिए ।

 

LIVE TV