
काठमाडौं । धार्मिक तथा ऐतिहासिक रुपले महत्व बोकेको दैलेखको पञ्चकोशीलाई प्रबर्द्धन गर्न पशुपतिनाथदेखि पञ्चकोशीसम्मको यात्रा सम्पन्न भएको छ ।
मनघरी फाउण्डेशनको आयोजना र दैलेखी सेवा समाज काठमाडौं, दुल्लु नगरपालिका, भैरवी गाँउपालिका, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य यात्रा सम्पन्न भएको हो ।
पर्यटकीय सम्भावना प्रचुर भएर पनि उचित प्रचारप्रसार हुन नसकेको यो क्षेत्रको प्रचारप्रसार हुने विश्वास लिईएको छ ।
समापन कार्यक्रमा बोल्दै कर्णाली प्रदेश सभाका सांसद घनश्याम भण्डारीले उचित प्रचारप्रसार र भौतिक पूर्वाधारको निर्माण नहुदा सम्भावना भएर पनि पञ्चकोशी पछि परेको बताए ।
उनले भने, ‘कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृती तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण क्षेत्र हो । पर्यटकीय सम्भावना प्रचुर भएर पनि यो क्षेत्रको उचित प्रचार–प्रसार हुन सकेको छैन । तसर्थ, पर्यटकीय हिसाबले महत्वपूर्ण रहेका स्थानलाई नेपाल तथा विश्व माझ थप चिनाउनु आवश्यक ठानेर संघीय राजधानी काठमाण्डौ सग जोडन सकियो भने प्रदेश तथा जिल्लाका पर्यटकीय स्थलहरु गन्तवयका रुपमा स्थापीत हुन सक्छन।’
यस्तै कर्णाली प्रदेश सभाका साँसद पुर्ण चालिसेल संघिय राजधानीदेखि दैलेखलाई जोडन पशुपतीदेखि पञ्चकोशीसम्म यात्रा मियो सावित हुने विश्वास व्यक्त गरे ।
विश्वसम्पदा सूचिकृत स्थल पशुपतिदेखि धार्मिक तथा ऐतिहासिक स्थान पञ्चकोशीसम्म यात्रा गर्दा बागमती प्रदेशको पशुपति, गण्डकी प्रदेशको देवाघाट, लुम्बिनी प्रदेशको लुम्बीनी र बागेश्वरी, कर्णाली प्रदेशको देउती बज्यै, काक्रेविहार, पञ्चकोशी समेटिएका छन ।
यात्रा पश्चात संघीय राजधानी काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यात्राका दौरान कैद गरिएका तस्वीर र भिडियो प्रदर्शनी गरिने आयोजक मनघरी फाउण्डेशन जनाएको छ ।