
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते दोस्रो पटक विश्वासको मत लिएपछि अबको चार दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।
त्यसका लागि उनले पुस ७ देखि नै गठबन्धन दलका नेताहरुसँगको छलफल तीब्र पारे । तर प्रधानमन्त्री प्रचण्डले सरकार विस्तारका लागि सहमति जुटाउन सकेका छैनन् ।
प्रधानमन्त्रीले चार दिनभित्रै सरकारले पूर्णता पाउने बताए पनि गठबन्धन दलहरुको रस्साकस्सीका कारण सरकार विस्तार गर्न हम्मेहम्मे परेको छ । मन्त्रिपरिषद् विस्तारका लागि अझै केहि समय लाग्ने र सरकारको डेलिभरिमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिँदै गर्दा ४ दिनभित्र मन्त्रीपरिषद् विस्तार गरिसक्ने बताएका थिए । सोहि अनुसार नै उनले मंगलबार विहानैबाट गठबन्धन दलहरुसंग छलफल थाले । तर उनी आफैले गरेको प्रतिवद्धता भने पूरा हुन सकेन ।
उनले भनेको समयमा सरकारले पूर्णता पाउने कुरा त परै जाओस, गठबन्धन दलहरु सहमतिको नजिक पनि पुग्न सकिरहेका छैनन् ।
सत्ता गठबन्धनमा आवद्ध दलहरु बढी भन्दा बढी मन्त्रालय आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । संसदको सवैभन्दा ठुलो दल नेपाली कांग्रेसले गृह, अर्थसहितका १० मन्त्रालयमा आफ्नो दावी गरिरहेको छ । यता, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफुले कुनैपनि संवैधानिक पद नराखेकाले गृह, शहरी विकास लगायतका ३ मन्त्रालय पाउनुपर्ने हठ कसेको छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पनि उपप्रधानसहित शहरी विकास मन्त्रालयमा दावि गरिरहेको छ ।
त्यस्तै, जनमत पार्टी, जसपा, लोसपा, आम जनता पार्टी लगायतका साना दलहरुको पनि महत्वपूर्ण मन्त्रालयमा दावि गरिरहेका छन् । जसका कारण शक्ति बाँडफाँटको बिषय दिन प्रतिदिन पेचिलो बनिरहेको छ ।
चैत्र १० गत प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएकोे ठीक ३ महिना पुगेको छ । यो ९० दिनको समयमा सरकार जनताका मुद्दा भन्दा पनि शक्ति बाँडफाँटमै रुमलिएको छ ।
विगत १ महिनादेखि गृह, अर्थ, शिक्षा, स्वास्थ्य, परराष्ट्र लगायतका १६ वटा मन्त्रालयको भारी प्रधानमन्त्री प्रचण्ड आफैले बोकिरहेका छन् ।
गठबन्धन दलहरु भित्रको आन्तरिक किचलोका कारण तत्काल मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना क्षीण देखिएको छ ।
त्यसमा पनि गठबन्धन दलहरुबीचको असमझदारीकै कारण प्रचण्ड नेतृत्वको सरकार संकटमा पर्ने त होइन ? भन्ने अहम् प्रश्न उब्जिएको छ । तर राजनीतिक विश्लेष्कहरु भने केही समय सरकार तलमाथि नहुने दाबी गर्छन् ।
प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा यसपटक आफूले काम गरेरै देखाउने विश्वास दिलाएका थिए ।
उनले दोस्रो पटक विश्वासको मत प्राप्त गरेपछि अब सरकारले तीव्र गतिमा काम गर्ने बताएका थिए । तर, उनको आफ्नो ३ महिनाको महत्वपूर्ण समय भने सरकार बनाउने र जोगाउने काममै बितेको छ ।