११ चैत्र २०७९, शनिबार
  • सुजन चालिसे

काठमाडौं । वर्तमान संसदमा नेकपा एकिकृत समाजवादी सातौँ ठुलो दल हो । गत निर्वाचनमा १० सीटमात्र जितेको नेकपा एस हालको सत्ता गठबन्धनमा रास्वपालाई औपचारिक गणना नगर्ने हो भने चौथो ठुलो दल हो ।

सत्ता भागबण्डामा महत्वपुर्ण संवैधानीक पदहरुमा दावी नगरेको नेकपा एसले मन्त्रालय भागबण्डामा भने महत्वुपुर्ण तीन मन्त्रालयमा दावी गरेको छ । तर गठबन्धनका १० भन्दा बढि दलहरुको टोकसोका बीच प्रधानमन्त्री प्रचण्डले नेकपा एसलाई सम्मानजनक भूमिका दिन सक्लान् त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि केहि दिनमै मन्त्रालय भागबण्डा टुंगाउने दावी गरेका थिए । तर सत्ता गठबन्धन दलहरुको प्रारुप हेर्दा मन्त्रालय भागवण्डा प्रधानमन्त्रीका लागि सहज देखिँदैन ।

गठबन्धनका दलहरुले भागबण्डाका लागि छलफल जारी नै राखेका छन् ।

उनीहरुले सम्मानजनक भागको माग राखिरहँदा प्रधानमन्त्री भने संसदमा रहेको उनीहरुको सीट संख्याका आधारमा मन्त्रालय भाग लगाउने रणनीति अख्तियार गरिरहेका छन् । तर, नेकपा एसले यो नीतिलाई रुचाएको छैन ।

कुनैपनि संवैधानीक पदमा दावी नगरेको भन्दै गृह वा अर्थसहित महत्वपुर्ण ३ मन्त्रालय आफ्नो भागमा आउनुपर्ने माग नेकपा एसको छ ।

यसैगरि, उसले सातमध्ये एक प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठनको कसरत पनि गरिरहेको छ । विहिबार साँझको गठबन्धन बैठक र शुक्रवार विहान प्रधानमन्त्रीसँगको वान टु वान भेटघाटमा पनि नेकपा एसका अध्यक्ष माधव नेपालले शक्तिशाली ३ मन्त्रालयको दावी गरेका छन् ।

सत्ता भागबण्डामा राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति जसपा र प्रधानमन्त्री माओवादी केन्द्रको भागमा परेको छ । सो आधारमा सरकारका मन्त्रालयहरुमध्ये आफ्ना रोजाइको बलियो मन्त्रालय पाउनुपर्ने तर्क नेकपा एसको छ ।

गृह वा अर्थ, भौतिक पुर्वाधार वा सिंचाइ र शिक्षा वा स्वास्थ्य मध्ये एक एक गरी ३ महत्वपुर्ण मन्त्रालयमा उसको नजर छ । तर सरकारको नेतृत्व गरेको हिसाबमा गृह मन्त्रालय आफैँसँग राख्ने पक्षमा माओवादी देखिन्छ ।

यता अर्थ, भौतिक पुर्वाधार, रक्षा, शिक्षा, स्वास्थ्य लगाएतका मन्त्रालयमा कांग्रेसको नजर छ । यस अलावा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाले पनि प्रधानमन्त्रीमाथि दवाव बनाइरहेका छन् ।

यस्तोमा प्रधानमन्त्रीलाई मन्त्रालय भागबण्डा निक्कै कठीन देखिएको छ । तरपनि, आफ्नो प्रस्तावमा प्रधानमन्त्री लगाएत गठबन्धनका शिर्ष दलहरु सकारात्मक रहेको दावी एकिकृत समाजवादीको छ ।

गठबन्धन निर्माणका क्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि एक वर्ष प्रधानमन्त्रीमा भाग पाउनेगरी मौखिक सहमति भएको बाहिरिएको थियो । तर उक्त सहमतिको धरातल कति बलियो छ भन्ने एकिन छैन ।

त्यसैले पनि महत्वपुर्ण तीन मन्त्रालय र कम्तिमा एउटा प्रदेशको नेतृत्व दावीलाई नेकपा एसले स्वभाविक मानेको छ ।

संसदको पहिलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री नपाउँदा अन्य मन्त्रालयहरुमा सशक्त दावी पेश गर्ने बताइरहेको छ ।

१० भन्दा बढि दलको गठबन्धन र सत्ता आकांक्षामा आफुले खोजेजस्तो सम्मानजनक भूमिका पाउन नेकपा एसलाई सहज भने देखिँदैन ।

LIVE TV