
- अनमोल कार्की
रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृह जिल्ला रौतहटमा पार्टीका मधेस प्रदेश कमिटी सदस्यहरुसहित ३१ जना नेकपा एमालेमा फर्किएका छन् ।
एकीकृत समाजवादी पार्टीको भविष्य नरहेको र नेकपा एमाले मात्र सच्चा कम्युनिष्ट पार्टी भएकाले आफूहरु एमालेमा फर्किएको उनीहरुले बताएका छन् ।
एकीकृत समाजवादी छाडेर एमालेमा फर्कनेहरुमा मधेस प्रदेश कमिटी सदस्य अमर बहादुर आले, बाबुराम दाहाल, मुस्लिम इत्तेहात संगठनका मधेस प्रदेस अध्यक्ष एवम् केन्द्रिय सचिव शेष करिमुल्लाह, राष्ट्रिय हित सुरक्षा विभाग, भु.पु. सैनिक विभागका केन्द्रिय सदस्य टिका बहादुर कार्की, भु.पु. सैनिम तथा प्रहरी संगठन समादवादीका मधेस प्रदेश अध्यक्ष राम कुमार खड्का लगायत जिल्ला तथा नगर कमिटीका सदस्यहरु रहेका छन् । आफूहरुले नेकपा एमालेसँग विद्रोह गरेर एकीकृत समाजवादीमा लागे पनि सो पार्टी माओवादी र कांग्रेसको पिछलग्गु बन्नुबाहेक केही पनि गर्न नसकेकाले आफूहरु कम्युनिष्ट शक्तिहरुलाई बलियो पार्न नेकपा एमालेमा फर्किएको बताए ।
उनले राष्ट्रपतिको निर्वाचन अघि माधव नेपाल राष्ट्रपनि बनेर नेकपा एमाले र एकीकृत समाजवादीबीचमा एकिकरण हुने कुराले सम्पूर्ण कार्यकर्तामा उत्साह छाएपनि माधव नेपालले माओवादी र कांग्रेसको पुच्छर बन्ने निर्णयले आफुहरुलाई निरुत्साहित गरेकाले एमालेमा फर्किएको जनाए ।
अर्का मधेस प्रदेश सदस्य अमर बहादुर आलेले जनताको आशा र भरोसाको केन्द्र नेकपा एमाले भएकाले आफुहरु आफ्नो पस्रानो घर फर्किएको बताए । आफूहरुले निकै मेहनत गरे बनाएको पार्टी नेकपा एमालेनै सच्चा देशभक्त र जनताको हित सोच्ने पार्टी भएकाले निशर्त एमालेमा फर्किएको उनको भनाइ छ ।
मुस्लिम इत्तेहात संगठनका मधेस प्रदेस अध्यक्ष एवम् केन्द्रिय सचिव शेष करिमुल्लाहले एकिकृत समाजवादीका अधिकासं नेता कार्यकर्ताहरुको चाहना नेकपा एमाले फर्कने रहेकाले अबका केही दिनमा अझ ठुलो संख्यामा समाजवादी परित्याग गर्दै एमालेमा फर्कने बताए ।
उनले माधव नेपालको गृह जिल्ला भएपनि रौतहटमा अब समाजवादी सकिने दावी गर्दै एमालेलाई जिल्लाको पहिलो शक्तिको रुपमा स्थापित गर्न आफूहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । पार्टीमा फर्किएकाहरुलाई स्वागत गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज पुरुषोतम पौडेलले देश अहिले एमाले र कांग्रेस दुइ धु्रबमा विभाजित भएको र देशभक्त, विकासप्रेमी शक्तिहरु सबै अब एमालेमा गोलबन्ध हुने विश्वास व्यक्त गरे ।
उनले एमालेले छाडेर अन्य पार्टीमा लागेकाहरुलाई एमालेमै फर्काउने केन्द्रिय नीति पनि रहेकाले घर फर्कनेहरुलाई उच्च सम्मान र स्वागत सहित पार्टीको जिम्मेवारी दिने बताए । समादवादी छाडेर फर्किएका अधिकासं नेताहरु माधव नेपालका नजिकका नेताहरु मानिन्छन् । उनीहरुले एमाले प्रवेसले रौतहटमा समाजवादीलाई ठुलो झट्का लागेको एमालेमा नेताहरुको दावी गर्छन् ।