
काठमाडाैँ । आज लगानी भोलिपल्ट दोब्बर प्रतिफल ! दुनियाँमा यस्तो कहीँ, कहिल्यै होला ? सामान्यतः यस्तो हुन मुस्किलै हुन्छ । तर लगानी दोब्बरको प्रलोभनमा पारेर सामाजिक सञ्जालमार्फत आउने सन्देशमा विश्वास गर्दा एक दम्पत्तिको नौ लाख रुपैयाँ डुबेको छ । जसको रकम डुब्यो उसले इ सेवा आइडीमा अलि अलि गर्दै चार दिनमा नौ लाख रुपैयाँ पठायो ।
इ–सेवाको सहारा लिएर गरिएको यो ठगीको कहानी निकै रोचक छ । त्यसअघि दर्शकहरुलाई जानकारी दिन चाहन्छौं कि डिजिटल बैंकिङमा कसरी सचेत रहने र लाभ लिने भन्ने उपायबारे तपाईहरुलाई जानकारी गराउनका लागि न्युज ट्वान्टी फोरले डिजिटल बैंकिङ अवार्नेस मन्थ जारी राखेको छ ।
‘डिजिटल बैंकिङ अवार्नेस मन्थ’ मार्च ३१ सम्म सञ्चालनमा रहनेछ । ‘डिजिटल युगमा– डिजिटल बैंकिङ – नबुझे पछि परिन्छ’ । त्यसैले डिजिटल बैंकिङ बुझ्न न्युज ट्वान्टी फोर टेलिभिजन हेर्दै गर्नुहोला । यसबारेको सुचना, सन्देश हामीले निरन्तर प्रशारण गरिरहेका छौँ ।
गएको कात्तिक १७ गते । काठमाडौं कपन बस्दै आएकी अस्मीता गुरागाईलाई स्कुले साथीले ‘मैले रकम पाएँ’ भन्ने सन्देशसहितको एक भिडीयो सामाग्री पठाए । इन्स्टाग्राममा पठाइएको त्यो भिडियो सामाग्रीमा ‘पैसा लगानी गरेको केही घण्टामा नै दोब्बर हुन्छ’ भन्ने सन्देश थियो ।
लगानी गरेको केही घण्टामै दोब्बर हुने त्यस्तो आकर्षक कुराले अस्मीताको ध्यान तानियो । उनले थप प्रष्ट हुन आफ्ना ती साथीलाई च्याटमार्फत सोधिन् । जवाफमा उनले ‘लगानी गरे पैसा दोब्बर हुन्छ’ भने । र लगानीका लागि हौस्याए पनि ।
केही घण्टामैलगानी दोब्बर हुने सुनौलो अवसर ठानेर तोकिएको इ सेवा नम्बरमा उनले पैसा जम्मा गर्न थालिन् । सुरुमा उनलाई ७० हजार रुपैयाँ जम्मा गर्न भनियो । त्यसपछि पिन कोड, कर, कमिसन आदि वहानामा थप रकम जम्मा गर्न लगाइयो । लगानी दोब्बर भइहाल्ने लालचमा फसेकी अस्मिताले यो मामिलाको तथ्य नबुझी रकम जम्मा गर्दै गइन् । उनले नौ लाख रुपैयाँ बुझाईन् । तर लगानी दोब्बर भएर फर्किएन ।
उनलाई रजिष्टर गर्न, अर्को स्तरमा लगानी थप्नु पर्ने भन्दै म्यासेज आइरहन थाल्यो । ठूलो रकम लगानी भइसक्दा पनि फिर्ता हुने कुनै संकेत नदेखिएपछि भिडियो सन्देश पठाउने साथीलाई उनले फोन गरेर यसबारे बुझिन् ।
तर, उनका साथीले आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक भएको जवाफ दिए । अर्थात सुरुमा उनले जसको विश्वास गरेर रकम लगानी गरेकी थिइन्, ती व्यक्ति उनका स्कुले साथी थिएनन् । स्कुले साथीको अकाउन्ट ह्याक गर्नेले अस्मितालाई जालमा पारेका थिए ।
लगानीको दोब्बर हुने आशामा अस्मिताले चार दिनमा नौ लाख रुपैयाँ तोकिएको इसेवा नम्बरमा पठाएकी थिइन् । ७० हजार लगानी गर्दा १० लाखसम्म प्राप्त हुने ती ह्याकरले बताएका थिए । आफूले पठाएको रकम कुन क्षेत्रमा लगानी हुन्छ र यसरी पैसा फिर्ता हुन्छ ? भन्ने चाहिँ उनले सोधिनन् ।
आफू ह्याकरको सिकार भएको पक्का भएपछि अस्मीता र उनका पति सुशील ढुंगाना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे ।
अस्मीता र सुशीलको पाँच महिनादेखि प्रहरी कार्यालय धाउने दैनिकी जस्तो बनेको छ । प्रहरीले लामो गहन अनुसन्धानपछि यो घटनामा जोडिएका व्यक्ति पत्ता लगाएको छ । अस्मिताले जुन नम्बरको इ सेवा आइडीमा रकम पठाएकी थिइन्, त्यो नम्बरसँग जोडिएका व्यक्ति रहेछन्– काठमाडौंको नरेफाँट बस्ने जुम्लाका राज रोकाया । रोकाया अहिले प्रहरी फन्दामा परिसकेका छन् ।
व्यक्तिगत कागजपत्रको दुरुपयोग
मोबाइल सीमको दुरुपयोगबाट यो ठगी भएको देखिन्छ । सीम निकाल्न नागरिकता प्रमाणपत्रको नक्कल, फोटो र अन्य केही आधारभुत विवरणहरु टेलिकम कम्पनीमा बुझाउनु पर्छ । यो मामिलामा जोडिएका राज रोकाय पहिले सीम कारोबारी थिए । ग्राहकका व्यक्तिगत कागजपत्र लिएर सिम बेच्ने गर्थे । त्यसरी उनको हातमा अन्य मानिसका व्यक्तिगत कागजपत्र र फोटोहरु हुने गर्दथ्यो । पछि तिनै कागजपत्रको दुरुपयोग गरेर उनले अरु पनि सिम निकाले र त्यसकै माध्यमबाट ठगी गर्न थाले ।
राजले प्रहरीलाई दिएको बयानअनुसार उनी एक भारतीय गिरोहले भने बमोजिम काम गर्थे र सोझा सिधा मानिसहरुलाई ठगीको जालोमा पार्ने गर्थे ।
प्रहरीले दिएको जानकारीअनुसार पछिल्लो समय अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेका छन् । चिठ्ठा परेको भनेर ठगी गर्ने, मोबाईल, ल्यापटप तथा क्यामेरा खरिद बिक्रीका क्रममा व्यक्तिगत सूचना माग्ने र ठगी गर्ने, फेसबुक तथा इन्साटाग्राम आईडी ह्याक गरेर, ओटीपी कोड दुरुपयोग गरेर, मोबाइल वालेट दुरुपयोग गरेर, अनलाइन रोजगारीको विज्ञापन राखेर, सीम डुप्लीकेसन गरेर, लगानी दोब्बरको प्रलोभनमा पारेर पनि ठगी भइरहेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनलाइन माध्यमबाट ठगिमा परेका पीडितहरुको उजुरीका चाङ लागिरहेको छ । कार्यलयको तथ्याकंअनुसार आर्थिक वर्ष ०७७ ७८ मा २४४ उजुरी परेका छन । ०७९ ८० मा यो संख्या बढेर ६७१ पुगेको छ । यस्तै ०७९ ८० को साउन यताको ८ महिनामा यो संख्या बढेर ९ सय १० पुगेको छ । यसमध्ये १ सय ७५ जनाको प्रहरीले पीडितले रकम फिर्ता पाएका छन भने अन्य घटनामा अपराधी पत्ता लाग्नै मुस्कील पर्ने गरेको छ । ठगिनेमा धेरैजसो महिला छन् ।