
काठमाडौँ । १५ वर्षका नेपाली बालिकाहरुलाई भारतमा वेश्यावृत्तीमा लगाइन्छ भन्दा कसैलाई पत्यार लाग्ला ? यो कारुणिक अवस्था नेपाली बालिकाहरुले भोग्नु परेको मामिला सार्वजनिक भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले दिल्लीबाट १० नेपाली चेलीलाई उद्दार गरेर नेपाल ल्याएको छ । नेपाल ल्याइएका मध्ये १५, १६, १७ वर्षका बालिका पनि छन् । बालबालिकालाई कानुनले तोकभन्दा फरक काममा त लगाउन पाइँदैन भने देह व्यापरमा लगाइएको यो मामिला कति संवेदनशील होला त ? अझै गम्भीर विषय त के छ भने भारतमा नेपाली लगेर यौनधन्दामा लगाउने व्यक्ति पनि नेपाली नै छन् । टीकाराम भण्डारी र उनकी पत्नी टीका ओलीले यस्तो धन्दा गर्दै आएका थिए ।
भारतको राजधानी दिल्लीस्थित किसनगढ क्षेत्रमा फ्लाट भाडामा लिएर नेपाली युवतीहरुलाई देह व्यापारमा लगाइन्थ्यो । यस्तो नारकीय अवस्थामा रहेका १० नेपाली चेलीहरुलाई उद्दार गरी नेपाल ल्याइएको छ ।
रोजगारीको प्रलोभन देखाएर मानव तस्करहरुले नेपाली युवतीहरुलाई दिल्लीमा देहव्यापारका लागि पुर्याएको प्रहरी अनुसन्धानले देखाएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरो, नेपाली राजदूतावास, किन इन्डिया, शक्ति समूह र दिल्ली प्रहरीसमेतको संयुक्त कारबाहीमा उनीहरुको उद्दार भएको हो ।
फ्ल्याटमा महिला राखेर गरिने देहव्यापारविरुद्धको मिसन फ्ल्याट नामक अभियान चलाउँदा यी १० नेपाली महिलाहरुको उद्दार भएपछि ब्युरोलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएका महिलाहरुको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष समूहको छ । उनीहरु नुवाकोट, काठमाडौं, काँस्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकी मध्ये एक महिलाले राम्रो जागिर दिलाइ दिने प्रलोभनमा पारेर दिल्ली पुर्याइएको बताएकी छिन् ।
दिल्ली पुगेपछि देह व्यापारमा संलग्न हुन बाध्य भएको उनले प्रहरीलाई बताएकी छिन् ।
नेपाली राजदुतावासमा कार्यरत एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट ४ जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दुतावास पुगेको थियो ।
यस्तो रिपोर्ट दिल्ली दूतावास पुगेपछि शक्ति समूह, कीन इण्डिया र स्थानिय प्रहरसिँग समन्वय गर्दा हराएका ४ मध्ये १ युवती फेला परेकी थिइन् । ती एकले दिएको सूचनाका आधारमा अरु दुई फेला परे भने मिसनलेअ अन्य सातको खोजी गरेको थियो ।
कीन इण्डियाका प्रमुख नविन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनिहरुलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नुपरेको र ४८ घण्टाको निरन्तरको खोजिपछि महिलाहरुको उद्धार गर्न सम्भव भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले भारतमा राम्रो तलब सुविधासहित रोजगारीको आकर्षण देखाएर मानव तस्करहरुले नेपाली महिलाहरुलाई भारत पुर्याउने गरिएको पाइएको छ ।
यो मामिलामा टीकाराम भण्डारी र उनकी पत्नी टीका ओलीले नेपाली युवतीहरुलाई फ्लाटमा राखेर यौन धन्दा गराउँदै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।