१० चैत्र २०७९, शुक्रबार

काठमाडौं । कतिपय रोग हामीले जन्मजात नै लिएर आएका हुन्छौ । गर्भमा रहँदा नै शिशुमा केहि समस्या हुन सक्छ । तर, नेपालमा गर्भमा नै शिशुमा केहि समस्या छ वा छैन भनेर परिक्षण निकै कम मात्र गर्ने गरिन्छ ।

गर्भमा रहदा नै जन्मने शिशुमा केहि समस्या छ वा छैन पहिचान गर्ने प्रविधि नेपालमा समेत उपलब्ध छ । जसमध्ये शिशुमा जन्मनु अगाडी नै डाउन सिन्ड्रोमको परिक्षणको सेवा थापाथली स्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालले दिदैं आएको छ ।

मानिसको जन्म पश्चात मात्र मानिसमा के कस्ता समस्या छन् भन्ने बारे थाहा हुन्छ । तर प्रविधिको विकाससंगै जन्मनु अगावै गर्भमा रहेका शिशुमा के कस्ता समस्या छ भनेर थाहा पाउन सकिन्छ । गर्भमा रहँदा कतिपय समस्याको उपचार संभव हुदैन ।

त्यस्तै उपचार संभव नहुने समस्या हो, डाउन सिन्ड्रोम । विगतमा शिशु जन्मेपछि शारीरिक बनावट हेरेर डाउन सिन्ड्रम पहिचान हुने गरेको थियो । तर, प्रविधिको विकाससंगै यसको परिक्षण गर्भमा नै गर्न सकिन्छ । साथै यो उपचार सेवा नेपालमा पनि उपलब्ध छ ।

सामान्तया मानव शरिरमा २३ जोडी अर्थात ४६ क्रोमोजोम हन्छ । तर कोहि व्यक्तिमा ४७ क्रोमोजोम हुन्छन । यो अवस्थामा क्रोमोजोमको २१ औं जोडीमा एउटा अतिरिक्त क्रोमोजोम देखा पर्छ । यहि ४७ क्रोमोजोम भएका व्यक्तिलाई डाउन सिन्ड्रोमको समस्या देखापर्छ ।

३५ वर्ष भन्दा माथि उमेर समुहका आमाबाट जन्मिएका बालबालिकामा डाउन सिन्ड्रोम हुने सम्भावना उच्च हुन्छ । यद्यपि ३५ वर्षमुनिका आमाबाट जन्मिएका बालबालिकामा यो समस्या देखिए पनि सो संख्या अत्गन्तै न्यून हुने गर्छ ।

उमेर बढेपछि गर्भधारणमा समस्या देखिने जानकारी पाएर परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल पुगेकी ४६ वर्षिय विमला लामा आफुलाई यसबारे जानकारी नहुदाँ दास्रो सन्तान गर्भमा नै खेर गएको दुखेसो पोख्छिन् ।

सामान्यतः डाउन सिन्ड्रोम भएका मानिसको बैद्धिक विकासमा कमिका साथै शारिरीक बनावट पनि फरक हुने गरेको छ । त्यस्ता शिशुमा यो समस्या पुर्ण रुपमा निको नहुने भएकाले विभिन्न थेरापि मार्फत मानिसको जिवन सहज बनाउन सकिन्छ ।

गर्भ रहेको ११ देखि २४ हप्तामा महिलाको रगतको स्क्रिनिङ मार्फत समस्या पत्ता लगाउन सकिने चिकित्सको भनाइ छ ।

७ सय शिशु मध्ये करिब १ जनामा डाउन सिन्ड्रोमको समस्या देखिने अध्ययनले देखाएको छ ।

हाल नेपालमा डाउन सिन्ड्रोम प्रिनेटल स्क्रिनिङको सुविधा थापाथली प्रसुती अस्पतालमा गएको एक वर्ष देखि उपलब्ध छ । साथै, अस्पतालले दैनिक रुपमा ८ देखि १० जनाको स्क्रिनिङ गर्दै आएको छ । डाउन सिन्ड्रोम गम्भीर स्वास्थ्य समस्या भएकाले यसबारे सचेत हुनुपर्ने चिकित्सहरुले बताउदै आएका छन् ।

 

LIVE TV