१० चैत्र २०७९, शुक्रबार

काठमाडौं । मुलुकमा शासन फेरियो, शासक फेरीए । उनीहरुले वैदेशिक व्यापारसम्बन्धि दिने भाषण भने सधै उस्तै हुन्छ । उनीहरु भन्छन् वैदेशिक व्यापारको अवस्था सन्तुलित गर्न काम गर्दैछौं । तर, व्यापारको अवस्था सन्तुलित छैन ।

गएको वर्षको तुलनामा यसवर्ष व्यापार घाटा केही कम देखिएपनि निर्यातको अवस्था दयनीय नै छ । आवश्यक सामान मुलुक भित्र उत्पादन र उपभोग न्युन छ । यसले अर्थतन्त्रलाई थप दबाबमा पारेको छ ।

भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष ७९÷८० को ८ महिनाको अवधिमा नेपालले १० खर्ब ५८ अर्बको सामान आयात गरेको छ, भने एक खर्ब ४ अर्ब ७९ करोड बराबरको सामान निर्यात गरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात १९.१३ प्रतिशतले कम हो । यस वर्ष आयातमा केही कमी आएको त छ तर, यसले व्यापारमा सन्तुलन भने कायम गर्न सक्दैन । किन कि निर्यातको अवस्था अझैपनि कमजोर छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ब्यापार घाटा ९ खर्ब ५३ अर्ब रहेको छ ।

भन्सार विभागको तथ्यांकमा अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १७.८६ प्रतिशतले ब्यापार घाटा कम भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष आठ महिनाको अवधिमा व्यापार घाटा ११ खर्ब ६० अर्ब थियो । यस वर्ष व्यापार घाटा कमि हुनुमा सरकारले आयातमा लगाएको प्र्रतिबन्ध, बजारमा तरलताको अभाव, बैंक तथा वित्तिय संस्थाको ब्याजदरमा वृद्धि जस्ता कारणहरु देखिन्छन् ।

व्यापार घाटा कम गर्न प्रतिबन्ध नै लगाउनु पर्ने स्थितिले मुलुकको कमजोर उत्पादन क्षेत्र र बढ्दो आवश्यकतालाई झल्काउँछ । मुलुकको नीति र प्राथमिकता फेरिन नसक्नु तथा खुला अर्थतन्त्र र उदारीकरणको संरचना परिवर्तन गर्न नसक्नुले आयात निर्यातमा सन्तुलन अभाव देखिन्छ ।

यस आर्थिक वर्षमा तथ्यांकमा व्यापार घाटा कम देखिनुले अर्थ क्षेत्रको सुधार भन्ने बुझ्न भने नमिल्ने जानकारहरु बताउँछन् ।

व्यापार सन्तुलन नहुनुका पछाडी सहरीकरणले खेतीयोग्य जमिन क्रमशः घट्दै जानु, युवाजनशक्ति विदेश पलायन हुनु, विश्वव्यापारीकरणको प्रभावसँग उपभोक्ता संस्कृति बढ्नु, कृषि क्षेत्रको उचित विकास नहुनु जस्ता कारण देखिन्छन् ।

भन्सार विभागका अनुसार मुलुकमा यस आर्थिक वर्षको आठ महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल, पेट्रोल र खान पकाउने ग्यास आयात गरिएको छ । भने सबैभन्दा धेरै ८ अर्ब ३७ करोडको सोयाबिन तेल निर्यात गरेको छ ।

यसरी दैनिकीकालागि अत्यावश्यक चिजवस्तुमा समेत परनिर्भर हुनुले उत्पादन क्षेत्र कमजोर छ भन्ने प्रष्ट पार्छ । निर्यातलाई बढाउन उत्पादनमा ध्यान र स्वदेशी उत्पादनको उपभोगलाई प्रत्साहन गर्न नसक्ने हो भने अर्थतन्त्रको अवस्था थप जटिलतातिर जाने निश्चित छ ।

LIVE TV