१० चैत्र २०७९, शुक्रबार

काठमाडौं । राजधानीमा दैनिक करिब ७ सय ५० हाराहारीमा राँगा वध गरिन्छ । करिब २ हजारको संख्यामा खसी–बोका वध गर्ने गरेका छन् । दैनिक हजारौं कुखुरा वध गरिन्छ । तर, अचम्म, महानगरमा हरेक दिन सयौंको संख्यामा पशुचौपाया वध गरिँदा त्यसको कुनै स्वाथ्य परीक्षण नै गरिँदैन ।

केवल वर्षमा एकपटक दशैंमा मात्र स्वास्थ्य परीक्षण गरेको चौपायाको मासु खान पाइन्छ । पछिल्लो समय मासु पसल अनुगमनमा महानगरले अलि चासो दिन थालेको छ ।

‘हाम्रो चाहना महानगरबासीलाई स्वस्थ मासु खुवाउने हो, कसरी खुवाउने भन्ने विषयमा बल्ल अनुगमन गर्न थालेका छौं’ –कामपा कृषि तथा पशुपक्षी विभागका निर्देशक बलराम त्रिपाठीले भन्नुभयो । ‘महानगरसँग पशु चिकित्सक छन्, उहाँहरूबाटै मासु निरीक्षण जारी राखेका छौं’ –उहाँको भनाइ छ । पशु चिकित्सकद्वय डा. अवधेश झा र डा। पूजा खनालले मासु पसलको अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

तर, कामपाले अनुगमन गरेको जनाए पनि खासै उपलब्धि देखिँदैन । करिब ४० लाख जनसंख्या बसोबास गर्ने कामपाभित्र त्यहाँका बासिन्दालाई मासु खुवाउन कस्तो चौपाया वध गरिन्छ भन्ने विषयमा कामपा स्वयं अनविज्ञ छ ।

‘बल्ल पसल अनुगमन शुरू गर्न थालेका छांै, वधशाला र चौपाया वध गर्ने स्थानको खासै अनुगमन भएको छैन’ –निर्देशक त्रिपाठीले भन्नुभयो । केही महिनापछि परिणाम आउने गरी काम हुने उहाँले दाबी गर्नुभयो ।

कामपाको अनुगमन टोलीले खाद्यान्न र मासुको एकैसाथ अनुगमन गर्ने गरेको छ । निर्देशक त्रिपाठीले भन्नुभयो– ‘मासु निरीक्षक, भेटेनरी र एक जना प्रशासनको विज्ञ टोलीसहित अनुगमनमा खटिनेछन्, टोलीले परिणाम निकाल्ने गरी काम गरिरहेको छ ।’ सरकारले मासु ऐन जारी गरेको २०५५ सालमा हो । कामपाले ऐनलाई आधार मानेर बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०७७ जारी गरी अनुगमन गरेको छ ।

यो खबर आजको नेपालसमाचार पत्र दैनिकमा छ ।

LIVE TV