९ चैत्र २०७९, बिहीबार
  • इन्दिरा चाम्लिङ

ब्रसेल्स । गैरआवासीय नेपाली संघ बेल्जियमको संयोजनमा नेपाली दूताबास ब्रसेल्स र लुभेन महानगरपालिका मिलेर ‘नेपाल फेस्टिभल २०२३’ आयोजना गर्ने भएको छ ।

नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर सदाझैँ बेनेलक्स, बेल्जियम र सिंगो युरोपमा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उद्धेश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो ।

युरोपको मुटु मानिने शैक्षिक नगरी लुभेन शहरमा आगामी वैशाख २ गते शनिबार (अप्रिल १५) फेस्टिभल आयोजना हुने गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले बताए।

संघको स्थापना कालदेखि नै नेपाल फेष्टिभल आयोजना गरिँदै आएकोमा यसपटक १४औँ फेस्टिभल आयोजना गरिँदैछ । अध्यक्ष केसीका अनुसार फेष्टिभल लुभेन शहरको मुख्य ट्रेन स्टेशनअगाडि मेतेरप्लेनमा आयोजना हुनेछ । जसमा नेपाली ब्रसेल्स दुताबासको स्टल, नेपाली मौलिक नेपाली हस्तकला, खानाका परिकार, पर्यटन सूचना केन्द्रलगायत एक दर्जनभन्दा बढी स्टलहरू राखिने छन् ।

नेपाल फेस्टिभललाई भब्यरूपमा सपन्न गर्न बेल्जियमस्थित प्रायः सबै नेपाली संघसंस्थाका प्रमुखलाई मूल आयोजक समिति सदस्य बनाइएको छ । मूल आयोजक समितिमा संघका पूर्व अध्यक्षहरू, बेल्जियमस्थित संघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु साथै नेपाल पत्रकार महासंघ युरोप र बेल्जियमलाई समेत पदेन मूल आयोजक समितिको सदस्यमा राखिएको छ ।

यस्तै, बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली दूतावास ब्रसेल्स, लुभेन महानगरपालिका, एक्टिभ इन्टरकल्चरल फेडेरेशन (एआईएफ) र मुण्डमुभ्स प्रमुख प्रायोजकहरू रहेका छन्। ‘नेपाल फेस्टिभल व्यवस्थापन समिति’ संघका उपाध्यक्ष तीर्थ धमलाको सयोजकत्वमा गठन गरिएको छ।

फेस्टिभलमा ब्यापक सहभागिताका निम्ति नेपाली तथा विदेशी संघ, संस्थाहरुलाई पत्राचार गरिसकिएको र बेनेलाक्सस्थित नेपालीहरूको होटेल, रेष्टुरेण्ट तथा अन्य व्यवसायीलाई प्रचार सामग्री राख्ने र वितरण गर्ने कार्य भइरहेको संयोजक धमलाले बताए।

फेस्टिभलमा नेपाल पत्रकार महासंघ युरोप, नेपाल पत्रकार महासंघ बेल्जियम र घटना र बिचार मिडिया पार्टनरका रूपमा रहेका छन्। बिहान ११ बजेदेखि प्रारम्भ हुने कार्यक्रममा विभिन्न नेपाली आदिबासी जनजातिलगायत नेपाली पहिरनसहित परम्परागत झाँकी, नृत्य प्रस्तुत गर्दै औडी मार्केट–दिन्समार्ग हुँदै एक घन्टामा कार्यक्रमस्थल पुग्ने कार्यतालिका रहेको छ ।

दिनको एक बजे फेस्टिभलको समुद्घाटन र अथितिहरुको स्वागत गरिनेछ भने कार्यक्रमलाई रोचक र प्रभावकारी बनाउन वरिष्ठ पप गायक धिरज राई र स्थानीय कलाकारहरू लाहुरे कान्छा, नारायण धिताललगायतले प्रस्तुति दिनेछन्।

युरोप नेपाल कलाकार संघ बेल्जियम, इनास बेल्जियम स्थानीय ‘बज्र व्याण्ड’लगायत ५ दर्जन बढी नेपाली स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति पस्कने छन्। साथै आवतजावका लागि हवाई टिकट र र ५ डे प्याकेज टुर लक्की उपहारको रूपमा दुईजना विदेशीलाई साथै कार्यक्रममा विविध रोचक प्रस्तुतीहरूसमेत रहने व्यवस्थापन समितिका संयोजक धमलाले जानकारी दिए।

फेस्टिभल बिहान ११ बजेदेखि राति १० बजेसम्म संचालन हुनेछ भने अवलोकनका निम्ति बेल्जियमकी राजकुमारी, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उप–प्रधानमन्त्री तथा मन्त्रीहरू, बेनेलक्सका नगरपालिकाका मेयरहरू, युरोपियन युनियनका पदाधिकारी, दर्जनौ देशका राजदूतहरू, दक्षिण एसियाका कुटनैतिक नियोगका प्रमुखहरूलगायत संघका केन्द्रीय पदाधिकारीहरूलाई महोत्सवमा आमन्त्रण गरिएको अध्यक्ष केसी र संयोजक धमलाले जानकारी दिए ।

LIVE TV