
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् ।
बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पाण्डेले नेपालीहरु स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्नेमा जो दिए ।
‘सामुदायिक रेडियोहरुलाई बचाइराख्नुपर्छ । यसमा साथ सहयोग दिन म तयार छु । रेडियोसँग सम्बन्धित ऐन बनाउँदा यो ऐनबाट तपाईहरुलाई माया गर्नुपर्ने ठाउँ खोज्दा म त्यसको साथमा अग्र पंक्तिमा रहनेछु,’ उनले भने, ‘आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ । हामी व्यापार घाटामा खर्बौं रपैयाँ घाटामा जाने गर्दछौँ । हाम्रो आफ्नो उत्पादन हामी वृद्धि गर्न सक्दैनौँ । विदेशी उत्पादन प्रयोग गर्छौं तर सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ ।’
उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता समेत जनाए ।